धनगढी: शुक्रबार सशस्त्र प्रहरी बल नेपालको २५ औँ स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा नम्बर ७ बैद्यनाथ बाहिनीले उत्कृष्ट कर्मचारी एवं कार्यालयलाई पुरस्कार प्रदान गरेको छ। उक्त अवसरमा केही सिनियर तथा जुनियर कर्मचारीहरूले पुरस्कार प्राप्त गरेका छन्। यस्तै केही कर्मचारी भने सशस्त्रको प्रधान कार्यालय हलचोकबाट प्रदान गरिने पुरस्कारबाट समेत पुरस्कृत भएका छन्।
साथै बाहिनी मातहतका उत्कृष्ट गण, गुल्म तथा कमाण्डर, उत्कृष्ट सीमा सुरक्षा गुल्म, सुरक्षा बेस र बीओपी प्रमुखलाई पनि सम्मान गरिएको छ। यस्तै अवकाशप्राप्त कर्मचारी तथा खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीलाई समेत पुरस्कार प्रदान गरिएको छ।
२५ औँ सशस्त्र प्रहरी दिवस तथा रजत जयन्तीको अवसरमा आयोजित विशेष समारोहमा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालले पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका थिए। आफ्नो कार्यक्षेत्रमा शान्ति–सुरक्षा तथा अमन–चयन कायम गर्नुका साथै अवैध राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको योगदानको कदर गर्दै उनीहरूलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको हो।





