धनगढी: धनगढी उपमहानगरपालिका–८ सेतोपुलमा अवस्थित मोडर्न एरा बोर्डिङ हाई स्कुलमा सरस्वती पूजा विधिपूर्वक सम्पन्न भएको छ। ज्ञान, विद्या र शिक्षाकी देवी सरस्वतीको पूजाआराधनासहित आयोजित कार्यक्रममा ११ जना बालबालिकाले अक्षराम्भ गरेका छन्।
सरस्वती पूजाको अवसरमा स्कुल परिसरमा धार्मिक वातावरणसहित विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्कुलका प्रिन्सिपल भुपेन्द्र कटुवालका अनुसार धनगढीको पुरानो तथा स्थापित विद्यालयलाई पछिल्लो समय नयाँ व्यवस्थापनसहित गुणस्तरीय शिक्षा र आधुनिक सुविधासम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लगिएको छ। हाल पी.जी.देखि कक्षा १० सम्म कक्षा सञ्चालन भइरहेको उक्त विद्यालयमा करिब ७ सय विद्यार्थी अध्ययनरत छन्।
विद्यालयले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षा र निरन्तर उत्कृष्ट नतिजाका कारण विद्यार्थीहरूको आकर्षण बढ्दै गएको प्रिन्सिपल कटुवालले बताए। उनका अनुसार मोडर्न एरा बोर्डिङ हाई स्कुलले पठनपाठनसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विशेष जोड दिँदै आएको छ। विद्यालयले खेलकुद, हाजिरिजवाफ, वक्तृत्वकला लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूमा जिल्ला तथा नगरस्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ। किताबीय ज्ञानसँगै विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र समग्र व्यक्तित्व विकास हुने खालका गतिविधिमा विद्यालय सक्रिय रूपमा लागिरहेको प्रिन्सिपल कटुवालको भनाइ छ।

