धनगढी । शुक्रबारबाट माघेझरी सुरू हुने मौसमविदहरूले आकलन गरेका छन्। माघ ९ गतेदेखि पश्चिमबाट पानी पार्ने वायु भित्रने मौसमविद विनोद पोखरेलले जानकारी दिए। उनले माघ १३ गतेसम्म पश्चिमी वायुले पानी पार्ने सम्भावना रहेको पनि आकलन गरेका छन्।
यसपटक हिउँदयाममा एकझर पानी परेको छैन। सामान्यतया मंसिर १६ देखि फागुन १६ गतेसम्मको हिउँद अवधिमा ६०.१ मिलिमिटर पानी पर्नुपर्नेमा अहिलेसम्म वर्षा शून्य छ। हिउँद सुरू भएयता पानी नै नपरेको जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणमा उल्लेख छ।
मौसमविद विनोद पोखरेलले आज र भोलिको मौसम घमाइलो हुने बताएका छन्। पछिल्लो समय चिसो घट्न थालेको छ। यो क्रम शुक्रबारसम्म रहने उनले बताएका छन्। शुक्रबारदेखि चिसो बढ्ने उनको भनाइ छ। पश्चिमी वायुले पानी पनि पर्ने उनले बताएका छन्।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापकसमेत रहेका उनले यसपटक भित्रने प्रणालीले पश्चिम नेपालमा राम्रै वर्षा गराउने सम्भावना देखिएको छ। यो प्रणाली काठमाडौंसम्म आइपुग्ने पूर्वानुमान छ। यद्यपि काठमाडौंमा भने छिटपुट मात्रै वर्षा हुने सम्भावना देखिएको छ।
‘यसपटक पश्चिम नेपालमा राम्रै वर्षा हुने देखिन्छ भने काठमाडौंसम्म हल्का वर्षा आउला भन्ने आश अझै छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
यसपटक पूर्वी नेपालको हिमाली भेगमा हल्का हिमपात मात्रै हुने उनले प्रक्षेपण गरेका छन्। यसैबीच जल तथा मौसम विज्ञान विभागले पूर्वचेतावनी सन्देश जारी गर्दै माघ ९ गते शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको समेत सम्भावना रहेको विभागले बताएको छ।
यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन विभागले अनुरोध गरेको छ।


