धनगढी। कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र उम्मेदवारीलाई लिएर विवाद देखिएको छ। अन्ततः खेमराज कोईरालाले रास्वपाको आधिकारिक उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका छन्। यसअघि हरि रेग्मीले आफूलाई रास्वपाको आधिकारिक उम्मेदवार भन्दै मंगलबार दिउँसो उम्मेदवारी दर्ता गराएका थिए। तर साँझ खेमराज कोईरालाको नाममा पार्टीको आधिकारिक टिकट आएपछि निर्वाचन आयोगले रेग्मीको उम्मेदवारी खारेज गरेको छ।
कैलाली क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत हरि प्रसाद आचार्यका अनुसार रास्वपाबाट दुई जनाको उम्मेदवारी परेपछि आवश्यक कागजात निर्वाचन आयोगमा पठाइएको थियो। “रास्वपाबाट दुई जनाको उम्मेदवारी परेपछि हामीले कागजात स्क्यान गरेर निर्वाचन आयोगमा पठाएका थियौँ,” उनले भने, “आयोगले खेमराज कोईरालालाई आधिकारिक उम्मेदवारका रूपमा तोकेर पठाएको छ।”
आयोगले कोईरालालाई आधिकारिकता दिएसँगै हरि रेग्मीको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए। रेग्मीको उम्मेदवारी खारेज भएसँगै कैलाली क्षेत्र नम्बर ४ मा अब कुल १६ जनाको उम्मेदवारी कायम भएको छ। यसअघि रेग्मी सहित १७ जनाको उम्मेदवारी परेकोमा एक जनाको खारेजीपछि संख्या घटेको हो। तीमध्ये १५ जना विभिन्न राजनीतिक दलबाट र एक जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतले बताए।


