धनगढी । आगामी फागुन २१ गतेको निर्वाचनका लागि जिल्लाका ३ वटै निर्वाचन क्षेत्रबाट ५५ उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। तीन निर्वाचन क्षेत्र रहेका कञ्चनपुरमा ५५ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिसचन्द्र जोशीले बताए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका नेता तारालामा तामाङले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी, सो क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका नेता बिना मगर, नेपाली कांग्रे्रेसबाट गोपीप्रसाद उपाध्यायले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता जनक सिंह धामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिल्ली शाहीसहितका १९ उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको निर्वाचन अधिकृत दामोदर घिमिरेले जानकारी दिए ।
यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता नारायण प्रकाश साउद, नेपाली कम्युनिष्ट पार्टीका नेता माधव पन्त, नेकपा एमालेका नेता बचन बहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तीर्थराज चटौतले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नम्बर–२ बाट १९ जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले बताए ।
यसैगरी, निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेबाट डा दीपक प्रकाश भट्ट, नेपाली कम्युनिष्ट पार्टीका नेता मानबहादुर सुनार, नेपाली काङ्ग्रेसका नेता हरिप्रसाद बोहरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्ण बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ज्ञानेन्द्र महताले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख जोशीका अनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा १७ जना गरी तीन वटै निर्वाचन क्षेत्रबाट ५५ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।


