धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता इश्वरि बिस्टले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएको घोषणा गरेका हुन्।
बिस्ट यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए। सो निर्वाचनमा पार्टीको संगठन सुदृढ नभएको अवस्थामा समेत उनले ३ हजार ४ सय ३५ मत प्राप्त गरेका थिए, जसलाई राजनीतिक वृत्तमा उल्लेख्य मत परिणामका रूपमा हेरिएको थियो।
रास्वपाका पूर्व धनगढी सभापति समेत रहेका बिस्टले पार्टीको संगठन विस्तार र जनस्तरसम्म पार्टीको विचार पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। स्थानीय राजनीतिमा सक्रिय रहँदै आएका बिस्ट जनतासँग प्रत्यक्ष संवाद र अभियानमा जोड दिँदै आएका नेता हुन्।
उम्मेदवारी दर्ता गरेपछि बिस्टले राष्ट्र, राष्ट्रियता, स्वाधीनता र लोकतन्त्रको संरक्षणका लागि आफू मैदानमा उत्रिएको बताएका छन्। उनले शोषणकारी पूँजीवादका विरुद्ध आवाज उठाउँदै जनताको अधिकार, सुशासन र सामाजिक न्यायका पक्षमा आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे।
बिस्टले मतदातालाई सम्बोधन गर्दै भनेका छन्,
“कैलाली क्षेत्र नं. ५ का सम्पूर्ण मतदाता आमा–बुवा, दाजुभाइ, दिदी–बहिनीहरूमा हार्दिक नमस्कार। आज मैले यही माटोबाट, यही जनताको भरोसामा उम्मेदवारी दर्ता गरेको छु। तपाईंहरूको माया, विश्वास र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो। आशा छ, तपाईंहरू मेरो यो संघर्षमा साथ दिनुहुनेछ।”
कैलाली ५ मा रास्वपाभित्र टिकट वितरणलाई लिएर असन्तुष्टि चुलिएको बेला बिस्टको बागी उम्मेदवारीले आगामी निर्वाचनलाई थप रोचक बनाउने राजनीतिक विश्लेषकहरूको भनाइ छ। बिस्टको उम्मेदवारीले मत विभाजनसँगै स्थानीय राजनीतिक समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको छ।

