कैलाली । नेपाल मलखाद व्यवसायी सङ्घ, कैलालीको प्रथम साधारण सभा भजनीमा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै नेतृत्व हस्तान्तरण गरेको छ ।
साधारण सभाबाट लोकेश भट्ट अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा अनुप बम, सचिवमा राम शरण चौधरी र कोषाध्यक्षमा पदम सापकोटा चयन हुनुभएको छ । सदस्यहरूमा हरी न्युरे, रामकृष्ण चौधरी, दिनेश साप्कोटा र प्रकाश थापा निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरूले मलखाद व्यवसाय कृषिसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले व्यवसायमा पारदर्शिता, गुणस्तर र सेवामूलक सोच अपरिहार्य रहेको उल्लेख गरे । किसानलाई गुणस्तरीय मलखाद समयमै उपलब्ध गराउने, कालोबजारी नियन्त्रण गर्ने र व्यवसायलाई मर्यादित बनाउने विषयमा नयाँ नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा जोड दिइयो ।
नवनिर्वाचित अध्यक्ष लोकेश भट्टले सबै व्यवसायीलाई एकतामा बाँधेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कृषकका हकहितलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो । उहाँले मलखादको सहज आपूर्ति, गुणस्तर सुनिश्चितता र व्यवसायी तथा कृषकबीचको विश्वास मजबुत बनाउने आफ्नो प्राथमिकता रहने उल्लेख गर्नुभयो ।
साधारण सभामा सहभागीहरूले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । संस्थागत एकता, पारदर्शिता र किसानमैत्री नीतिका माध्यमबाट मलखाद व्यवसायलाई व्यवस्थित र विश्वसनीय बनाउने विश्वास समेत व्यक्त गरिएको छ ।
आगामी कार्यकाल सफल, उदाहरणीय र उपलब्धिमूलक हुने अपेक्षासहित साधारण सभा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रमुख अथिती भजनी नगर प्रमुख केबल चौधरी
विशिष्ट अतिथि भुमि, ब्यबस्था कृषी तथा सहकारी मन्त्रालय सचीव शंकर शाह, अतिथि बस्तुगत सङ का अध्यक्ष हरु सहभागी थिए ।

