धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि चुलिँदै गएको छ। स्थानीय तहबाट सिफारिस भएका नेताहरूलाई बेवास्ता गर्दै सिफारिस नभएका व्यक्तिलाई टिकट दिइएको आरोप लगाउँदै कैलाली क्षेत्र नम्बर–५ बाट २०७९ सालका उम्मेदवार इश्वरी बिष्टले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
बिष्टले प्रतिनिधिसभा निर्वाचनमा कैलाली–५ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गर्दै पार्टीभित्र बन्द कोठामा हुने राजनीतिलाई अस्वीकार गर्ने बताएका छन्। “म चुनावी मौसममा मात्र देखिने उम्मेदवार होइन,” उनले भने, “जनताको दुःख–सुखमा सधैं सँगै उभिएको, सडक, खेत, बस्ती र गाउँ–टोलमै संघर्ष गर्दै आएको जनताको प्रतिनिधि हुँ।”
उनले जनताको पसिनाको गन्ध बुझेको, पीडाको आवाज बोकेको र निरन्तर संघर्षबाट यहाँसम्म आइपुगेको दाबी गर्दै अब कैलाली–५ लाई भाषण होइन, काम गर्ने प्रतिनिधि आवश्यक रहेको बताएका छन्। “आश्वासन होइन, उत्तरदायी नेतृत्व आजको आवश्यकता हो,” बिष्टले स्पष्ट पारे।
स्वतन्त्र उम्मेदवारीको घोषणासँगै उनले आफ्ना साथी, शुभेच्छुक तथा क्षेत्रवासी दाजुभाइ–दिदीबहिनीहरूलाई एकताबद्ध साथ, सक्रिय सहयोग र बलियो समर्थनका लागि खुला आह्वान गरेका छन्। “तपाईंहरूको साथले पुरानो राजनीतिक संस्कार तोड्नेछ, भ्रष्टाचार र बेवास्ताको अन्त्य गर्नेछ र कैलाली–५ मा वास्तविक परिवर्तनको ढोका खोल्नेछ,” उनले विश्वास व्यक्त गरे।
रास्वपामा टिकट वितरणलाई लिएर कैलालीसहित विभिन्न जिल्लामा असन्तुष्टि बढ्दै गएको संकेतका रूपमा बिष्टको स्वतन्त्र उम्मेदवारीलाई हेरिएको छ।


