धनगढी — आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारीका लागि दावेदारहरूको संख्या बढ्दै गएको छ। क्षेत्र नम्बर ५ बाट भिम बहादुर बोहरा सहित ७ जना नेताहरू प्रतिनिधिसभा सदस्यका लागि दावेदारी प्रस्तुत गर्दै सक्रिय लबिङमा जुटेका छन्। मनोनयन दर्ताको समय नजिकिँदै जाँदा पार्टीभित्र उम्मेदवार बन्ने होड तीव्र बनेको हो। जिल्लास्तरबाट उम्मेदवारका नाम सिफारिस भई माथिल्लो समितिमा पुगे पनि अन्तिम उम्मेदवारको टुंगो भने अहिलेसम्म लाग्न सकेको छैन।
रास्वपाका स्रोतका अनुसार कैलाली–५ बाट भिम बहादुर बोहरा, जसुकुमारी भट्ट, हरि रेग्मी, ईश्वरी बिष्ट, पुष्कर अवस्थी, लक्ष्मण थारू र आनन्द बहादुर चन्द ले उम्मेदवारीका लागि पार्टी नेतृत्वसमक्ष दाबी प्रस्तुत गरेका छन्। उनीहरू आ–आफ्नो राजनीतिक अनुभव, संगठन विस्तारमा गरेको योगदान तथा स्थानीय जनसमर्थनलाई आधार बनाएर टिकटको दाबी गरिरहेका छन्। पार्टीभित्र उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत स्थानीय संगठनको सिफारिस, उम्मेदवारको सार्वजनिक छवि, विगतको भूमिकाका साथै निर्वाचन जित्ने सम्भावनालाई मुख्य मापदण्ड बनाइने बताइएको छ। यद्यपि दावेदारको संख्या बढी भएकाले उम्मेदवार छनोट चुनौतीपूर्ण बन्दै गएको पार्टीका नेताहरू बताउँछन्।
कैलाली क्षेत्र नम्बर ५ राजनीतिक रूपमा प्रतिस्पर्धात्मक क्षेत्र मानिँदै आएको छ। यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बलियो र सर्वस्वीकार्य उम्मेदवार चयन गर्नुपर्ने दबाबमा रहेको देखिन्छ। पार्टी नेतृत्वले मनोनयन दर्ता अगावै अन्तिम निर्णय लिने तयारी गरिरहेको जनाइएको छ। अब केही दिनभित्र उम्मेदवारको टुंगो लाग्ने अपेक्षा गरिएको छ भने टिकट कसको हातमा पर्ने भन्ने विषयले स्थानीय राजनीतिक वृत्तमा चासो बढाएको छ।

