धनगढी । दुईवटा मौसमी मोडलले अर्को सातादेखि पानी पर्ने प्रक्षेपण गरेका छन्। युरोपिएन सेन्टर फर मिडियम रेन्ज वेदर फरकास्ट ९इसिएमडब्ल्युएफ० र ग्लोबल फरकास्ट सिस्टम ९जिएफएस० ले यही माघ ९ देखि १३ गतेसम्म माघेझरी प्रक्षेपण गरेको हो। यही अवधिमा पानी पर्यो भने यो पहिलो हिउँदेझरी हुनेछ।
सामान्यतया मंसिर १५ देखि फागुन १६ गतेसम्मको अवधिलाई ुहिउँद यामु भनिन्छ। यो अवधिमा ६०।१ मिलिमिटर पानी पर्नुपर्नेमा डेढ महिना बितिसक्दा पनि एकझर पानी परेको छैन।
पानी नपर्दा काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरको वायुमण्डल धुवाँ–धूलोका कणले ढाकेको छ। तराईदेखि हिमाली क्षेत्रसम्म डढेलो र आगलागीका घटनामा बढोत्तरी आइरहेका छन्।
मौसमविद विनोद पोखरेलले माघ ९ देखि १३ गतेसम्म वर्षा हुने प्रक्षेपण गरेका छन्। उनका अनुसार आज पनि पश्चिमबाट सुख्खा बादल भित्रिरहेको छ, तर यसले पानी पार्ने सम्भावना कम छ। अर्को साता भित्रिने यस्तै बादलले भने पानी बोकेर ल्याउने र वर्षा हुने सम्भावना रहेको पोखरेलले बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका उपप्राध्यापक पोखरेलका अनुसार त्यो प्रणालीले सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै भूभाग प्रभावित पार्ने छ। लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेश आंशिक प्रभावित हुने देखिएको छ।
उनका अनुसार काठमाडौंमा पानी पर्ने सम्भावना कमजोर देखिन्छ। यद्यपि लामो अवधिको प्रक्षेपण भएकाले बादलको तीव्रतामा भने केही फेरबदल हुन सक्ने उनी बताउँछन्।
जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जीव अधिकारीले आगामी तीन दिन वर्षा हुने सम्भावना कमजोर रहेको बताए। शुक्रबार बेलुकी पश्चिमबाट सुख्खा बादल भित्रिने सम्भावना देखिएको छ। यो बादलले पानी नबोकेकाले वर्षा हुने त्यति सम्भावना छैन। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भेगमा भने हिउँ र पानी पर्ने कमजोर सम्भावना रहेको अधिकारीले जानकारी दिए।
विभागको प्रणालीले अहिले ७२ घन्टासम्मको मात्र प्रक्षेपण गर्दै आएको छ। त्यसैले अर्को साताको प्रक्षेपण गर्न कठिन रहेको उनले बताए।


