धनगढी — धनगढी जेसिज २०२६ का नवनिर्वाचित अध्यक्ष महेश्वर ओझाले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। धनगढीमा आज आयोजित एक विशेष कार्यक्रममा अध्यक्ष ओझासहित सम्पूर्ण नव निर्वाचित तथा मनोनित पदाधिकारीहरूले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण समारोहमा धनगढी जेसिज २०२५ का अध्यक्ष लोकराज भट्टले नवनिर्वाचित अध्यक्ष ओझालाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए। कार्यक्रम राष्ट्रिय जेसिजका अध्यक्ष जीवन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
समारोहमा बोल्दै प्रमुख अतिथि कार्कीले जेसिजले युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नयाँ कार्यसमितिले पनि संस्थाको गरिमा र उद्देश्यअनुसार प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे।

धनगढी जेसिज २०२६ को कार्यकारिणी उपाध्यक्षमा भरत राज जोशी र सन्तोष पन्त निर्वाचित भएका थिए। त्यसैगरी उपाध्यक्ष पदमा भुवन बिष्ट, सबिन रोकाया, विनोद बलायर र दिपेश बोहरा निर्वाचित भएका थिए। महासचिवमा दिपक गौतम, कोषाध्यक्षमा आशिष शाह तथा कानुनी सल्लाहकारमा ललित बम्मलाई अध्यक्ष ओझाले मनोनित गरेका हुन्।
पदभार ग्रहण कार्यक्रममा सबै कार्यसमिति सदस्यहरूले आ–आफ्नो जिम्मेवारी सम्हाल्दै औपचारिक रूपमा पदभार ग्रहण गरेका थिए। कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष महेश्वर ओझाले युवाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सामाजिक सेवामूलक गतिविधिलाई प्राथमिकतामा राख्दै धनगढी जेसिजलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको सहकार्यबाट संस्थालाई नयाँ उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरे।
पदभार ग्रहण समारोहमा जेसिजका पूर्व अध्यक्षहरू, सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

