धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या घटनामा जिल्ला अदालत कैलालीले १३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले बिहीबार फैसला सुनाउँदै मुख्य अभियुक्त नवीन रावलसहित ६ जनालाई जीवित रहेसम्म कैद (आजीवन जन्मकैद) हुने ठहर गरेको हो ।
अदालतका सूचना अधिकारी पंकज उपाध्यायका अनुसार नवीन रावलसँगै आर्यान देवकोटा, रोशन बहादुर शाही, अनुज भन्ने चिरञ्जिवी जंग शाही, रोहित आले र हिमाल शाहीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ अनुसार आजीवन कैद सजाय सुनाइएको छ ।
यस्तै, मदन शाही, हेमन्त शाही, धिरज भन्ने दीपेन्द्र शाही, गोलु भन्ने निशान्त मल्ल र शोहन शाहलाई दफा १७७(१) बमोजिम जन्मकैद सजाय हुने ठहर गरिएको छ । साथै, लोकेन्द्र कुवँर र सविनजंग शाहीलाई समेत अभियोग दाबीअनुसार जन्मकैदको सजाय सुनाइएको अदालतले जनाएको छ ।
यस मुद्दामा प्रतिवादी अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ गरी ७ जनालाई भने प्रमाण नपुगेको ठहर गर्दै पूर्ण रूपमा सफाइ दिइएको छ । फरार रहेका प्रतिवादी लोकजंग शाहीको हकमा भने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ अनुसार मुद्दा मुल्तबीमा राख्ने आदेश भएको छ ।
अदालतले सजाय ठहर भएका १३ जनाबाट संयुक्त रूपमा पीडितलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दामासाहीका आधारमा उपलब्ध गराउन आदेश दिएको छ । साथै, उनीहरूले कानुन बमोजिम जनही दुई हजार आठ सय रुपैयाँका दरले पीडित राहत कोषमा रकम दाखिला गर्नुपर्ने ठहर गरिएको छ ।
भूपेन्द्र बडुवालको २०७८ साल कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो । उक्त घटनापछि २०७८ फागुन २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले नवीन रावलसहित २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो ।


