डडेल्धुरा — बैतडीको पाटन नगरपालिका–८ विजयपुरनजिक सोमबार बिहान भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। ६ जना घाइते छन्। घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। यही दुर्घटनाबाट केही यात्रु भने संयोगवश जोगिएका छन्। जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे–बझाङ सडक खण्डमा पर्ने सूर्नया गाउँपालिकाको मोतिनगरबाट छुटेको म १ ज २२४ नम्बरको जिप सुरुमा बैतडी सदरमुकामका लागि छुटेको थियो। बाटोमा डडेल्धुरातर्फ जाने यात्रु भेटिएपछि चालकले जिपको गन्तव्य परिवर्तन गर्दै डडेल्धुराका यात्रु चढाएको थियो। त्यसपछि बैतडी सदरमुकाम जान चाहने यात्रुहरूलाई अर्को जिपमा सारिएको थियो।
दुर्घटनाबाट जोगिएका यात्रु हिमाल ऐरका अनुसार उनी दुर्घटना हुनुभन्दा करिब १० मिनेट अगाडि मात्रै उक्त जिपबाट ओर्लिएका थिए। ‘म बैतडी सदरमुकाम गोठलापानी राष्ट्रिय परिचयपत्र लिन जाँदै थिएँ,’ उनले भने, ‘डडेल्धुराका यात्रु राख्ने भनिएपछि हामीलाई अर्को जिपमा सारियो। हामी चढेको जिप केही पछाडि थियो।’ उनका अनुसार दुर्घटनाग्रस्त जिप अगाडि तीव्र गतिमा थियो। ‘आँखै अगाडि जिप दुर्घटना भयो,’ ऐरले भने, ‘गुड्दागुड्दै अनियन्त्रित भएर पल्टिएको देखियो।’ दुर्घटनामा आफन्तहरू नै परेपछि उनी बैतडी नगई घाइतेहरूसँगै डडेल्धुरा अस्पताल आएका छन्।
प्रहरीका अनुसार बैतडीको मोतीनगरबाट डडेल्धुरा आउँदै गरेको जिप तीव्र गतिका कारण अनियन्त्रित भई पाटन नगरपालिका ८ विजयपुरनजिक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो। मृतकहरूमा बैतडी सिगास–१ का २४ वर्षीय निशान्त बोहरा, २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलीताल–३ का १३ वर्षका राकेश रावल रहेका छन्। दुर्घटनामा घाइते भएकी २७ वर्षीया बसन्ती ऐरको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ४ वर्षीया प्रिन्सा ऐर, जिप चालक २८ वर्षीय गणेश बिष्ट, २५ वर्षीया कमला बिष्ट, ३२ वर्षीय वीरेन्द्र बोहरा, १९ वर्षीया बिमला ऐर र २५ वर्षीया लालमती बोहरा घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।कान्तिपुरबाट


