धनगढी । धनगढीमा मोटरसाइकल चालकमाथि झापट हान्ने ट्राफिक प्रहरीकाथि छानबिन गर्न टोली गठन गरिएको छ ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रहरी निरीक्षक कटक कुँवरको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले कुँवरको संयोजकत्वमा छानबिन टोली बनाइएको बताए ।उनकाअनुसार छानबिन टोलीलाई सात दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ट्राफिक प्रहरी हवल्दार डेबिट श्रेष्ठले गुडिरहेको मोटरसाईकल सँगै दौड्दै रोकेर चालकलाई झापट हानेको भिडियो सार्वजनिक भएको थियो । सोही भिडियोको विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रदेशलाई समेत लिखित निर्देशन दिएको थियो । चालकलाई झापट हानेको भिडियो खिचेको भन्दै एसटीएस टेलिभिजनमा कार्यरत पत्रकार उषाकिरण ज्योति र लक्ष्मण ढुंगालमाथि समेत हवलदार श्रेष्ठले दुर्ववहार गरेका थिए ।
त्यसपछि पत्रकार महासंघ कैलाली र केन्द्रीय समिति तथा विभिन्न पेशागत संगठनले विज्ञप्ति जारी गर्दै उनलाई कारवाही हुनुपर्ने माग गरेका थिए । अस्ति मात्र पत्रकार महासंघ कैलालीको कार्यालय पुगेर हवल्दार श्रेष्ठ र महासंघबिच छलफल भएको थियोे ।
उनले ज्योती र लक्ष्मणसँग माफी माग्दै गल्ती भएको बताएका थिए ।
त्यहाँ जिल्ला ट्राफिक प्रहरी कार्यालयले समेत लिखित वक्तव्य मार्फत घटनाबारे धारणा सार्वजनिक गर्ने समझदारी बनेको थियोे तर ट्राफिक प्रहरीले अहिलेसम्म धारणा सार्वजनिक गरेको छैन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चक्र बहादुर देउवा घटना ढाकछोप गर्नमा केन्द्रीत भएपछि पत्रकारमाथि दुर्व्यवहार गरेको विषयमा मौन बसेको दाबी गरिएको छ ।


