धनगढी: सेती प्रादेशिक अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। कैलालीको जोशीपुर गाउँपालिका–५ सिम्रनाकी ३३ वर्षीया राधिका नेपालीको गत बुधबार बेलुकी मृत्यु भएको हो। चिकित्सकको लापबारहीले मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले शव उठाएका छैनन्। त्यही दिन बिहान सेतीमा भर्ना भएकी राधिकाले शल्यक्रियामार्फत् शिशुलाई जन्म दिएकी थिइन्। शल्यक्रियाका क्रममा चिकित्सकले लापरबाही गरेको आफन्तको आरोप छ। ‘डाक्टरले अफ्ठेरो छ भनेर समयमै भनिदिएको भए छोरीलाई अन्यत्र लैजान्थ्यौँ’ मृतकका बुवा तुलाराम नेपालीले भने, ‘शल्यक्रिया कक्षमा लैजाँदासम्म पनि राम्रै थिइन्। बेलुकी मृत्यु भयो भनेर सुनाइयो।’
डाक्टरले शल्यक्रियापछि रगत बगिरहेको भने पनि स्वास्थ्य खतरामा रहेको भनेर जानकारी नदिएको उनले बताए। आफन्तका अनुसार बिहान ८ बजे अस्पताल पुगेकी राधिकालाई शल्यक्रियाका लागि अपरान्ह १२ बजेतिर अपरेशन कक्षमा लगिएको थियो। दिउँसो १ बजे उनले छोरी जन्माएकी थिइन्। मृतककी भाउजु मिना नेपालीले चिकित्सकको लापरबाहीका कारण राधिकाको मृत्यु भएको दावी गरिन्। उनका अनुसार चिकित्सकले शल्यक्रियापछि रगत नथामिएको बताएका थिए। तर बेलुकी ५ बजेसम्म पनि सुत्केरीको अवस्था गम्भीर रहेको भनेका थिएनन्। ‘सात बजेतिर एक्कासी मृत्यु भएको भनियो’, मिनाले भनिन्, ‘सुरुमै हामीलाई किन भनिएन् रु’
शिशुको पालनपोषणको जिम्मा अस्पतालले लिनुपर्ने माग गर्दै आफन्तले शव उठाउन मानेका छैनन्। मृत्युको कारण पनि अस्पतालले जानकारी नदिएको मिनाले बताइन्। आफन्तका अनुसार गर्भावस्थामा नियमित चेकजाँचका क्रममा चिकित्सकले साल अगाडि रहेकाले बच्चा जन्माउँदा शल्यक्रिया गर्नुपर्ने भनेका थिए। शिशुको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। राधिकाका साढे पाँच वर्षका छोरा पनि छन्। पहिलो सन्तान जन्माउँदा पनि शल्यक्रिया गरिएको मिनाले बताइन्। घर नजिक अस्पताल नभएकाले प्रसुतिका क्रममा अफ्ठेरो हुनसक्ने भनेर उनी गत असारदेखि गोदावरी नगरपालिकाको स्याउलेस्थित माइतीमा बस्दै आएकी थिइन्।
रोजगारीका लागि भारतको पुनामा रहेका मिनबहादुर नेपाली श्रीमतीको मृत्यु भएको खबरपछि बिहीबार आइपुगेका छन्। सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी किशोरकुमार श्रेष्ठले मृतकका आफन्तसँग अस्पतालको टोलीसहित जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको जानकारी दिए।

