धनगढी। गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशनबाट देवी खनाल पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। अधिवेशनले खनालको नेतृत्वमा नयाँ कार्यसमिति समेत सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनबाट उपाध्यक्षमा राजेन्द्र बहादुर ठगुन्ना, सचिवमा नरेश प्रसाद ओझा, सहसचिवमा शिवराज उपाध्याय तथा कोषाध्यक्षमा सिमा कुमारी चौधरी चयन भएका छन्। यस्तै, सदस्यहरूमा दुर्गा कुमारी नेपाली, गोविन्दराज जोशी, विमला ओझा भट्ट र सिबि लुहार सर्वसम्मत चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिले सुदूरपश्चिम प्रदेशमा क्रियाशील गैरसरकारी संस्थाहरूबीच सहकार्य, समन्वय र एकताको भावना मजबुत बनाउँदै सामाजिक विकास, सुशासन, पारदर्शिता तथा जनउत्तरदायी कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
अधिवेशनको उद्घाटन गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले गरेका थिए। उद्घाटन सत्रमा बोल्दै अध्यक्ष भट्टराईले गैरसरकारी संस्थाहरूले प्रदेशको समग्र विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र परिणाममुखी रूपमा काम गर्नुपर्नेमा जोड दिए।
अधिवेशनमा प्रदेशभरबाट गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सुदूरपश्चिमको विकास, सामाजिक न्याय, सीमान्तकृत समुदायको सशक्तीकरण तथा संस्थागत सुदृढीकरणका विषयमा छलफल गरेका थिए।
नवनिर्वाचित अध्यक्ष देवी खनालले सबै प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा महासङ्घलाई थप सशक्त, विश्वासिलो र प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे।

