धनगढी । नेपाल–भारत सीमा क्षेत्रमा शान्ति, सुरक्षा तथा आपसी सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले नेपाल–भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ। कैलाली जिल्लाको गोदावरी नगरपालिकामा आयोजित बैठकमा कैलाली र कञ्चनपुर जिल्लाका सुरक्षा निकाय प्रमुखहरू तथा भारतको उत्तर प्रदेश अन्तर्गत लखिमपुर खिरी जिल्लाका सुरक्षा तथा प्रशासनिक अधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकमा सीमा क्षेत्रमा देखिने विभिन्न किसिमका आपराधिक गतिविधि नियन्त्रण, तस्करी रोकथाम, सीमा विवाद समाधान, अवैध आवत–जावत नियन्त्रण, लागुऔषध ओसारपसार रोकथाम तथा आपसी सूचना आदान–प्रदानलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको छ। सीमावर्ती क्षेत्रमा दुवै देशका नागरिकको सुरक्षा प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै संयुक्त गस्ती सञ्चालन, नियमित समन्वय बैठकको निरन्तरता र सुरक्षा निकायबीच आपसी विश्वास अभिवृद्धि गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन्। सीमा क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि सूचनाको तत्काल आदान–प्रदान र संयुक्त कार्ययोजना अनुसार काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
बैठकमा नेपाली सेनाका प्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, भारतीय सशस्त्र सीमा बल (एसएसबी) तथा दुवै देशका प्रशासनिक अधिकारीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले सीमा क्षेत्रमा शान्ति, सौहार्द र स्थायित्व कायम राख्न यस्ता समन्वय बैठक अत्यन्त आवश्यक रहेको धारणा राखेका छन्। दुवै पक्षले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमा क्षेत्रमा शान्ति र सुरक्षालाई दीर्घकालीन रूपमा कायम राख्न यस्ता बैठकलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

