डोटी: चिसो मौसमका कारण विद्यालय जाने बालबालिकालाई पर्न सक्ने कठिनाइलाई मध्यनजर गर्दै “खान पुगोस्, दिन पुगोस्” अभियान नेपालले डोटी जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेराका ५४४ बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ। शुक्रबार जोरायल गाउँपालिका–५ गड्सेरामा रहेका ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई स्विटर र टोपी वितरण गरिएको हो। चिसोका कारण बालबालिकाको नियमित पठनपाठनमा असर नपरोस् भन्ने उद्देश्यले अभियानले उक्त सहयोग कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
कार्यक्रम सहजकर्ता नेत्र खडायतका अनुसार नेपाल निजामती कर्मचारी युनियन कैलालीको सहकार्य तथा विभिन्न सहयोगी व्यक्तिहरूको सहयोगमा नवोदय माध्यमिक विद्यालय, महाकाली माध्यमिक विद्यालय, जनता आधारभूत विद्यालय, महेन्द्र आधारभूत विद्यालय, नवज्योति आधारभूत विद्यालय र जनप्रिय आवासीय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो।
यसै अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले ती ६ वटै सामुदायिक विद्यालयका लागि करिब ४२ हजार रुपैयाँ बराबरको भलिबल र नेट सहयोग गर्नुभएको छ। खेलकुद सामग्रीको सहयोगले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। त्यसैगरी, शैक्षिक अभिवृद्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले जोरायल गाउँपालिका–५ भित्रका सामुदायिक विद्यालयतर्फ कक्षा ८ को अन्तिम परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १ जना छात्रा र १ जना छात्रलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने व्यवस्था गरिएको छ। यसका लागि नवोदय माध्यमिक विद्यालयमा २ लाख १ हजार रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरिएको सहजकर्ता खडायतले जानकारी दिनुभयो। उक्त कोषको ब्याज रकमबाट हरेक वर्ष नगद पुरस्कार वितरण गरिनेछ।
कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशका सचिव डा. हेमराज रेग्मीले “खान पुगोस्, दिन पुगोस्” अभियानले सामाजिक उत्तरदायित्व वहन गर्दै शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। विद्यार्थी लक्षित यस्ता सहयोग कार्यक्रमले शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने र समाजमा सकारात्मक सन्देश फैलाउने उहाँको भनाइ थियो। अभियानका संयोजक घनश्याम भट्टले सबैको साथ, सहयोग र सहकार्यमा सामाजिक सेवाका कार्यलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य तथा विपन्न वर्ग लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर अभियान अघि बढाइने बताउनुभयो।
६ वटै विद्यालयको सहभागितामा गड्सेरास्थित महेन्द्र आधारभूत विद्यालयमा आयोजना गरिएको कार्यक्रममा जोरायल गाउँपालिका–३ का वडाध्यक्ष नवीन ओझा, गाउँपालिकाका शिक्षा शाखा अधिकृत तेज खत्री, नेपाल निजामती कर्मचारी युनियन कैलालीका अध्यक्ष निर्मल देउवा, गड्सेरा समाजका अध्यक्ष भोजबहादुर शाह, शिक्षक, समाजसेवी, विद्यार्थी, अभिभावक लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
न्यानो कपडा सहयोगप्रति विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकहरूले “खान पुगोस्, दिन पुगोस्” अभियानप्रति धन्यवाद व्यक्त गर्दै यस्ता मानवीय कार्यले ग्रामीण क्षेत्रका बालबालिकामा थप हौसला र उत्साह थप्ने बताएका छन्।

