धनगढीः कञ्चनपुरको बेल्डाडी गाउँपालिका वडा नम्बर-५ झिलमिलामा गए राति जङ्गली हात्तीले आक्रमण गरेको छ।
स्थानीय कमल गिरीको घरमा जङ्गली हात्तीले आक्रमण गरेको हो। राति १० बजेको समयमा आएको जङ्गली भाले हात्तीले गिरीको घरको पाली भत्काएर घरभित्र राखेको धान खाएको स्थानीय विद्यालयका शिक्षक तीर्थराज भट्टले बताए। रातिको समयमा एक्लै गाउँमा पसेको हात्तीले घरको पाली भत्काएर धान खाएको भट्टले बताए। हात्ती गाउँमा पसेपछि स्थानीयले होहल्ला गर्दै र ट्याक्टरको आवाजले हात्तीलाई बस्तीबाट भगाएका थिए।
होहल्ला पछि नजिकैको उखुबारीमा पसेको हात्ती फेरि बिहान चार बजे सोही घरमा आउन खोजेको स्थानीयले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले रातभर आतंक मचाएकोले फेरि बथानमै जङ्गली हात्ती गाउँ पस्ने पो हुन् कि भन्ने डर स्थानीयमा छाएको छ। धान खान पल्केपछि हात्ती बथान लिएरै आउने सम्भावना रहेको स्थानीयले बताएका छन्। उनीहरूले राष्ट्रिय निकुञ्जले हात्ती आउन नदिने उपाय अपनाउन आग्रह गरेका छन्।

