धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ अन्तर्गत शिवगंगा चोकमा रहेको शिव मन्दिर परिसरमा ज्येष्ठ नागरिक भवन तथा पर्खाल निर्माणका लागि बिनियोजित बजेट दुरुपयोग भएको गुनासो बढ्दै गएको छ । गत आर्थिक वर्षमा उक्त मन्दिरभित्र ज्येष्ठ नागरिक भवन र पर्खाल निर्माणका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि बजेट अनुसारको काम नहुँदा स्थानीयवासीले असन्तुष्टि जनाएका हुन् । स्थानीयका अनुसार मन्दिर परिसरमा पर्खाल र ज्येष्ठ नागरिक भवनको जग यसअघि नै तयार भइसकेको थियो । त्यसपछि जगभन्दा माथिको पर्खाल निर्माण तथा ज्येष्ठ नागरिक भवन निर्माणका लागि प्रदेशसभा सदस्य धर्म पाठकको सिफारिसमा प्रदेश सरकारबाट ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर सो बजेट अनुसार निर्माण कार्य सम्पन्न नभएको स्थानीयको आरोप छ ।

निर्माण कम्पनीले पर्खाल र ज्येष्ठ नागरिक भवनको भित्तासम्म मात्रै काम गरेर अधुरो छोडेको स्थानीय बताउँछन् । भवनको छत नहाली काम रोकिएपछि मन्दिर व्यवस्थापन समितिले अन्य स्रोत जुटाएर छानो हाल्नुपरेको उनीहरूको भनाइ छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर कार्कीले भवन निर्माणमा कमसल सामग्री प्रयोग गरिएको गुनासो गरे । बिनियोजित बजेट अनुसार भवन पूर्ण रूपमा निर्माण हुनुपर्ने भए पनि छत, बिजुली, ब्लक तथा फल्स सिलिङलगायतका काम नभएको उनले बताए । भवनको बजेट विवरण र लागत स्टिमेटसमेत सार्वजनिक नगरी गुपचुपमा अधुरो काम गरिएको भन्दै उनले निर्माण कार्यमा शंका व्यक्त गरे । साथै उनले अधुरो रहेको काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

यता प्रदेशसभा सदस्य धर्म पाठकले ज्येष्ठ नागरिकलाई बस्ने तथा बहुउपयोगी प्रयोजनका लागि प्रदेश सरकारबाट ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए । सो बजेटअनुसार लागत स्टिमेट तयार गरी निर्माण कार्य पूरा हुनुपर्ने भए पनि निर्माण कम्पनीले काम अधुरै छोडेको उनको भनाइ छ । निर्माण कार्य पूरा गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको बताउँदै उनले कुनै त्रुटि वा अनियमितता देखिए संसदीय समितिमार्फत कारबाही अघि बढाइने चेतावनीसमेत दिए ।
तर बजेट कार्यान्वयन गर्ने निकाय सामाजिक विकास कार्यालय कैलालीले भने लागत स्टिमेटअनुसार नै निर्माण कार्य सम्पन्न भएको दाबी गरेको छ । सामाजिक विकास कार्यालय कैलालीका इन्जिनियर विनोद जोशीका अनुसार गत आर्थिक वर्षको बजेट कार्यक्रमअनुसार टेन्डर प्रक्रिया मार्फत सिद्धी निर्माण सेवासँग भ्याट बाहेक १९ लाख ७८ हजार १५२ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । सोही अनुसार मन्दिरको पर्खाल र ज्येष्ठ नागरिक भवनको भित्तासम्म निर्माण कार्य सम्पन्न भई निर्माण कम्पनीलाई १८ लाख ९१ हजार रुपैयाँ भुक्तानी गरिसकिएको उनले बताए ।
स्थानीयवासी भने बिनियोजित बजेट, सम्झौता रकम र निर्माणको वास्तविक अवस्था बीच ठूलो अन्तर देखिएको भन्दै निष्पक्ष छानबिनको माग गरिरहेका छन् । यस विषयमा सम्बन्धित निकायको ध्यान नपुगे विश्वास गुम्ने खतरा बढ्दै गएको उनीहरूको भनाइ छ ।


