धनगढी। माओवादी पृष्ठभूमिबाट एमाले उपमहासचिवसम्मको राजनीतिक यात्रामा रहेका लेखराज भट्टको संघीय निर्वाचन इतिहास आफैंमा रोचक संयोगले भरिएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर–४ बाट निरन्तर चुनाव लड्दै आएका भट्टले अहिलेसम्म लगातार दुईपटक निर्वाचन जित्न सकेका छैनन्। उनी प्रत्येक चुनाव ‘एकपटक बिराएर’ जित्दै आएका नेता हुन्।
भट्टले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा विजयी हुँदै राष्ट्रिय राजनीतिमा प्रवेश गरे। तर, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका दीर्घराज भाटसँग पराजित भए। त्यसपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पुनः जित निकालेका भट्ट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा फेरि कांग्रेसकै सुदूरपश्चिम सभापति वीरबहादुर बलायरसँग पराजित हुन पुगे।
यसअघि २०६४ सालमा पहिलो जित निकाल्नुअघि भट्टले २०४८ सालमा मसालबाट संघीय निर्वाचन लडेका थिए। त्यो निर्वाचनमा पनि उनी पराजित भएका थिए। यही इतिहासका कारण एमालेभित्र लेखराज भट्टबारे चर्चा हुँदा नेताहरू प्रायः ठट्टा मिश्रित रूपमा भन्छन्— “यसपटक त उहाँको जित्ने पालो नै हो।” तर, संघीय निर्वाचनको यो ‘संयोग’ भन्दा फरक तस्वीर भट्टकै निर्वाचन क्षेत्रमा देखिन थालेको छ। संघीयता कार्यान्वयनपछि भएका दुईवटा स्थानीय तह निर्वाचनमा उनले आफ्नो गृहपालिकामै एमालेका उम्मेदवारलाई जित दिलाउन सकेका छैनन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका एमालेले जिते पनि त्यसबेला लेखराज भट्ट माओवादी केन्द्रमा थिए। माओवादीबाट गोदावरीको मेयरमा उनका सहोदर भाइ गोकर्ण भट्ट उम्मेदवार बनेका थिए, तर उनी पराजित भए। २०७९ सालको स्थानीय तह निर्वाचनमा भने लेखराज भट्ट स्वयं एमालेमा थिए। उनका भाइ गोकर्ण भट्टले एमालेबाट मेयरको टिकट पाए। तर, यसपटक पनि उनी नेपाली कांग्रेसका वीरेन्द्र भट्टसँग पराजित हुन पुगे। यसले लेखराजको स्थानीय राजनीतिक प्रभावमाथि प्रश्न उठ्न थालेको विश्लेषकहरू बताउँछन्।
स्थानीय तह निर्वाचनमा लगातार पराजय बेहोरेका गोकर्ण भट्ट अहिले लेखराजको राजनीतिक यात्राबाट टाढा भएका छन्। एमाले परित्याग गर्दै उनी ४६ जनासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरिसकेका छन्। गत पुस ६ गते एमाले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यसमेत रहेका भट्ट रास्वपामा प्रवेश गरेका हुन्। पार्टी परित्यागपछि गोकर्ण भट्टले एमालेप्रति कडा आलोचना गर्दै आएका छन्। “एमालेभित्र गुटबन्दी, अवसरवाद, धनवाद, डनवाद र यौनवाद हाबी भएका कारण पार्टी छोड्नुपर्यो,” उनले भनेका छन्, “इमानदार कार्यकर्ता र नेताको मूल्यांकन गर्ने परम्परा हराउँदै गएको छ।” उनले आवश्यक परे आफ्नै दाइविरुद्ध चुनाव लड्न पनि तयार रहेको अभिव्यक्ति दिँदै आएका छन्।
लेखराज भट्टको क्षेत्रमा एमालेका लागि अर्को ठूलो झट्का पूर्वमन्त्री कृष्ण सुवेदीको पार्टी परित्याग पनि बनेको छ। २०७९ सालको प्रदेशसभा निर्वाचनमा एमालेबाट विजयी हुँदै मन्त्री बनेका सुवेदीले ३५८ जनासहित एमाले परित्याग गरेको घोषणा गरेका थिए। हाल उक्त समूह नेपाली कम्युनिस्ट पार्टीमा सक्रिय रहेको छ। यद्यपि, पार्टीभित्र लेखराज भट्टको हैसियत कमजोर भएको सन्देश भने गएको छैन। माओवादी पृष्ठभूमिबाट आएका भट्टले हालै सम्पन्न एमाले महाधिवेशनमा उपमहासचिव पदमा सर्वाधिक मतसहित विजयी हुँदै आफू सर्वस्वीकार्य नेता भएको सन्देश दिन खोजेका छन्। महाधिवेशनमा उनले उपमहासचिव पदमा सबैभन्दा बढी मत पाउनु पार्टीभित्र उनको संगठनात्मक पकड अझै बलियो रहेको संकेत मानिएको छ।
अब प्रश्न उठेको छ—एकपटक बिराएर चुनाव जित्ने संयोग यसपटक पनि दोहोरिन्छ कि, क्षेत्रमै कमजोर बन्दै गएको एमाले संगठनले लेखराज भट्टको बाटो अझ कठिन बनाउनेछ ? आगामी निर्वाचनले यसको जवाफ दिनेछ।

