धनगढी: स्वतन्त्रबाट चुनाव लडेर स्थानीय तहमा जित हात पारेका तीन जना मेयर प्राय: चर्चामा हुन्छन् । काठमाडौं महानगरका मेयर बालेन साह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमाल (गोपी० । साम्पाङले श्रम संस्कृति पार्टी खोल्दै दलीय राजनीतिमा पाइला अगाडि बढाइसकेका छन् । काडमाडौंका मेयर बालेनले पनि आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरे । उनलाई पार्टीले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति गरेको छ । स्वतन्त्र उम्मेदवार भएर जितेका बालेन र साम्पाङले दलीय राजनीति सुरु गर्दा धनगढीका मेयर हमाल भने आगामी राजनीतिक यात्राबारे मौनजस्तै छन् । उनी न त नयाँ दल गठन वा प्रवेशमा लागेका छन्, न त पुराना दल नै रोजेका छन् ।
हमालले आफूलाई धनगढीका जनताले पाँच वर्ष मेयर पदका लागि म्यान्डेट दिएको बताउँदै सोही जिम्मेवारी निभाउँदै आएको बताए । ‘पाँच वर्ष मेयरको जिम्मेवारीमै रहेर धनगढीका लागि काम गर्छु,’ उनी आफू निकटलाई भन्छन्, ‘अहिले कतै जान्नँ ।’ मेयर हमालले अहिले आफू केही नबोल्ने बताउने गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा धनगढीकै मेयरमा स्वतन्त्र लडेका हमाल २ हजार ७०० मतले कांग्रेसका नृपबहादुर वडसँग पराजित भए । निर्वाचन हारेका हमाल लगत्तै विवेकशील साझा पार्टीमा प्रवेश गरे । प्रदेश संयोजकको जिम्मेवारीमा रहँदै संगठन विस्तारमा लागेका थिए, उनी ।
चार वर्ष सोही पार्टीमा रहेका हमालले ०७८ सालमा पार्टी परित्यागको घोषणा गर्दै धनगढीको मेयरमा फेरि स्वतन्त्र उम्मेदवार भएर चुनाव लड्ने तयारी थाले । ०७९ सालको स्थानीय तह निर्वाचनमा भने कांग्रेसका उनै वडलाई पराजित गर्दै मेयरमा विजयी भए, हमाल । हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम् प्रतिस्पर्धी वडले १४ हजार ८१७ मत मात्रै पाए । तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याएका थिए ।
पछिल्लो समयमा धनगढी क्षेत्रमा भइरहेका हरेक निर्वाचनमा ‘गोपाल हमाल फ्याक्टर’ले चुनावी अंकगणितमा प्रभाव राख्दै आएको छ । ०७९ सालको स्थानीय तह निर्वाचनपछि भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि हमालकै समर्थनमा तत्कालीन कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार विजयी भएको चर्चा थियो । धनगढी क्षेत्र (कैलाली– ५) मा कांग्रेसका डिल्लीराज पन्त तथा प्रदेशसभातर्फ कांग्रेसका प्रकाश देउवा र तत्कालीन माओवादी केन्द्रका रमेश धामी विजयी भएका थिए ।
कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा महासंघका पूर्वकेन्द्रीस्य रहेका हमाल प्रतिष्ठित व्यवसायी पनि हुन् । उनी ‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता पनि हुन् ।

