धनगढी । जेनजी आन्दोलनपछि देशभर नयाँ राजनीतिक दल र अभियानहरू देखिए पनि सुदूरपश्चिमका ग्रामीण भेगमा राजनीतिक व्यवहार भने अझै परम्परागत ढाँचामै सीमित छ । यहाँ परिवर्तनप्रति अनिच्छा होइन, पहुँच र विश्वासको अभाव मुख्य चुनौती बनेको देखिन्छ । सुदूरपश्चिमका गाउँ–टोलमा राजनीतिक दल केवल चुनावी संरचना मात्र होइनन्, सामाजिक पहिचान र पुस्तौँदेखिको सम्बन्धका प्रतीक पनि हुन् । नेपाली कांग्रेस, एमाले र कम्युनिस्ट पार्टीजस्ता दलहरूले दशकौँदेखि गाउँमै बसेर बनाएको संगठन, नेता–कार्यकर्ता र चुनाव चिह्नसँगको भावनात्मक सम्बन्ध नयाँ दलका लागि सबैभन्दा ठूलो अवरोध बनेको छ ।
दार्चुलाको व्याँस गाउँपालिकाका जनक धामी भन्छन्, “हाम्रो समाजमा भोट हाल्नु राजनीतिक निर्णयभन्दा पनि बानीजस्तै हो । आमा–बुवाले जुन चिन्हमा भोट हाल्दै आए, त्यही सिकाइ हामीमा पनि सरेको छ ।” उनका अनुसार नयाँ दलका विचार खराब भएर होइन, ती दल गाउँसम्म नपुग्दा जनताले बुझ्नै नपाएको समस्या हो । नयाँ भनिएका दलहरूको राजनीतिक गतिविधि प्रायः सहर, सदरमुकाम र सामाजिक सञ्जालमै सीमित देखिन्छ । इन्टरनेट पहुँच कमजोर भएका पहाडी जिल्लामा फेसबुक, टिकटक र युट्युबका बहसले खासै अर्थ राख्दैनन् । बाजुराका व्यापारी भीमबहादुर विष्टका अनुसार, “हामीले नयाँ दलका नाम सुनेका छौँ, तर उनीहरू हाम्रो गाउँमा आएर बोलेको, हाम्रो समस्या सुनेको देखेका छैनौँ ।”
राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, स्वतन्त्र अभियानकर्ता वा नागरिक उन्मुक्ति पार्टी—सबैप्रति जिज्ञासा त छ, तर स्थायी संगठन, निरन्तर संवाद र स्थानीय नेतृत्व नहुँदा त्यो जिज्ञासा विश्वासमा रूपान्तरण हुन सकेको छैन । विशेषगरी नाउपा जस्ता दल तराई केन्द्रित हुँदा पहाडी समुदाय आफैँलाई राजनीतिक छलफलबाट बाहिरिएको महसुस गरिरहेका छन् । सुदूरपश्चिमका कतिपय स्थानीय तहमा अझै भरपर्दो फोन नेटवर्कसमेत नपुगेको अवस्थामा ‘डिजिटल राजनीति’ ग्रामीण जनताको प्राथमिकतासँग मेल खान सकेको छैन । यहाँका नागरिकका लागि राजनीति भनेको सडक, विद्यालय, स्वास्थ्यचौकी र रोजगारीसँग जोडिएको ठोस विषय हो — सामाजिक सञ्जालको भाषण होइन ।
धनगढीका मानवबहादुर चौधरीका अनुसार, “पुराना दलप्रति असन्तुष्टि छ, तर विकल्प अनुभूत हुन सकेको छैन । जबसम्म नयाँ शक्तिले गाउँकै आँगनमा पुगेर हात समातेर भरोसा दिलाउँदैन, तबसम्म परिवर्तनको राजनीति सहरको बहसमै सीमित रहन्छ ।”
यस अर्थमा सुदूरपश्चिममा नयाँ दल असफल हुनुको कारण जनताको चेतनाको कमी होइन, बरु गाउँ–समुदायसँग जोडिन नसक्ने राजनीतिक अभ्यास हो । आगामी चुनावमा पनि पुराना दल दोहोरिनु आश्चर्य होइन, यदि नयाँ दलहरूले ग्रामीण यथार्थलाई आत्मसात् गर्न सकेनन् भने ।

