धनगढी: सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका सातमध्ये बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छ। बझाङ, डोटीको दिपायल, बैतडीको पाटन तथा अछामका साँफेबगर र कमलबजार विमानस्थलका धावनमार्ग कालोपत्रे गरेर स्तरोन्नति गरिए पनि उडान हुँदैन। दार्चुलाको गोकुलेश्वर विमानस्थलको स्तरोन्नति हुन सकेको छैन। ०३६ मा निर्माण भएको बैतडीको पाटन विमानस्थल ०५१ मा बन्द भएको थियो। दुई दशकपछि कालोपत्रका लागि तयारी सुरु भएर ०७७ मा पुनः सञ्चालनमा आयो। पुनर्निर्माणपछि १७ असोज ०७७ मा तत्कालीन नागरिक उड्डयनमन्त्री योगेश भट्टराई समिट एयरको १९ सिटे जहाज लिएर पाटन पुगेका थिए। उनले डोटी, बझाङ र बैतडी गरी तीनवटा विमानस्थलमा परीक्षण उडान गरे। तर, सुरुमा हप्तामा दुई उडान र त्यसपछि हप्तामा एक उडान गरेको समिट एयरले ०७८ पुसपछि उडान बन्द ग¥यो।
पाटनमा विमानस्थल बन्द भएसँगै ६५ किमिको दूरीमा रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थलको पुनर्निर्माण सुरु गरियो। पुनर्निर्माणका लागि तीन करोड ५८ लाखमा ठेक्का भएको थियो। तर, अहिलेसम्म निर्माण अधुरै छ। बझाङ विमानस्थलमा ६३० मिटर लम्बाइ र २० मिटर चौडाइको कालोपत्र धावनमार्ग रहे पनि जहाज उड्दैन। अछामको साफेबगरमा ५५० मिटर रनवे भएको विमानस्थलमा पनि जहाज नउडेको लामो समय भयो। ‘कहिलेकाहीँ समिट एयरको जहाज आउँथ्यो, डेढ वर्षयता विमानस्थल सुनसान बनेको छ,’ साफेबगर नगरपालिकाका मेयर राजेन्द्रबहादुर कुँवरले भने, ‘सरकारसँग विमान छैनन् रे, निजी क्षेत्रकाले उडान भर्दैनन्, करोडौँका संरचना प्रयोगविहीन बने।’
साफेबगरबाट करिब ५३ किलोमिटरको दूरीमा रहेको अछामकै कमलबजार विमानस्थल पनि अलपत्र छ। यो विमानस्थल भने कालोपत्र नभई सबबेस मात्रै हालेर सम्याइएको छ। ४९० मिटर लम्बाइ र २० मिटर चौडा कालोपत्र धावनमार्ग रहेको डोटीको दिपायल विमानस्थल पनि बन्द छ। पुनर्निर्माणपछि कहिलेकाहीँ मात्र उडान हुने यो विमानस्थल पछिल्लो एक वर्षयता सुनसान छ। ‘एक वर्षअघिसम्म कहिलेकाहीँ जहाज आउँथ्यो, त्यसयता बन्द छ,’ सिलगढी नगरपालिकाका उपमेयर कलावती साउदले भनिन्।
बाजुराको कोल्टी विमानस्थलको अवस्था भने सुदूरपश्चिमका पहाडी जिल्लाको भन्दा केही भिन्न छ। यहाँ नेपाल एयरलाइन्सको हप्तामा ३, समिट एयरको २ र तारा एयरको २ उडान हुने गरेको बुढीनन्दा नगरपालिका–३ का रामबहादुर बोहराले बताए। त्यस्तै, सीता एयरले समेत यात्रु पाएमा उडान भर्ने गरेको छ।

