धनगढी । धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा रहेको विद्याभुषण पब्लिक स्कुलले क्रिकेट क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको गौरव बढाएका खेलाडी, प्रशिक्षक तथा अभिभावकलाई सम्मान गरेको छ । विभिन्न प्रतियोगितामा उल्लेखनीय योगदान पुर्याउनेलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा क्रिकेटमा ह्याट्रिक गर्ने खेलाडीलाई विशेष सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल टोली लुम्बिनी लायन्स का मुख्य सदस्य तथा राष्ट्रिय स्तरका क्रिकेटर शेर मल्ल लाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । विद्यालयस्तरदेखि राष्ट्रिय स्तरसम्म पुग्न सफल खेलाडीलाई सम्मान गर्दा विद्यार्थीहरूमा खेलप्रति थप प्रेरणा मिल्ने विद्यालयको विश्वास रहेको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल डिकेन्द्र जंग कुँवर को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव योगेन्द्र हमाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा धनगढी नगर प्याब्सनका अध्यक्ष ध्रुव बहादुर सिंह, सचिव शान्ति भट्ट, कोषाध्यक्ष योगेन्द्र बहादुर सिंह लगायत विभिन्न विद्यालयका संस्थापक प्रिन्सिपल तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि हमालले विद्यालयहरूले शैक्षिक उपलब्धिसँगै खेलकुदलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताए । उनले विद्याभुषण पब्लिक स्कुलले खेलकुदमार्फत विद्यार्थीको प्रतिभा पहिचान गरी अघि बढाउन गरेको प्रयास सराहनीय रहेको उल्लेख गरे ।
कार्यक्रममा विद्यालयका क्रिकेट प्रशिक्षक र खेलाडीका अभिभावकलाई पनि सम्मान गरिएको थियो । खेलाडीको सफलतामा प्रशिक्षकको मेहनत र अभिभावकको साथ महत्वपूर्ण हुने भएकाले उनीहरूलाई पनि सम्मान गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

उल्लेखनीय कुरा के छ भने विद्याभुषण पब्लिक स्कुलले पछिल्लो एक महिनाभित्र धनगढीमा आयोजना भएका तीन वटा विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा लगातार उपाधि जित्दै ह्याट्रिक गरेको छ । निरन्तर सफलता हासिल गर्दै विद्यालयस्तरीय क्रिकेटमा ऐतिहासिक उपलब्धि हात पार्न सफल भएको विद्यालयले खेलकुद क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गरेको आयोजकको दाबी छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल डिकेन्द्र जंग कुँवरका अनुसार आगामी दिनमा पनि क्रिकेटसहित अन्य खेलकुद विधामा विद्यार्थीको प्रतिभा विकास गर्न थप कार्यक्रम र प्रतियोगितामा सहभागिता जनाइनेछ । सम्मान कार्यक्रमले खेलाडीहरूमा आत्मविश्वास बढाएको र आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने उत्साह थपिएको खेलाडीहरूले प्रतिक्रिया दिएका छन् ।

