धनगढी: सुदूरपश्चिम प्रदेशको प्रमुख भन्सार नाकाका रूपमा रहेको कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै राजश्व संकलनको लक्ष्य भेट्न सकेको छैन । कार्यालय पछिल्ला पाँच वर्षदेखि निरन्तर रूपमा तोकिएको वार्षिक राजश्व संकलन लक्ष्य पुरा गर्न असफल हुँदै आएको तथ्यांकले देखाउँछ ।
भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा कुल ३ अर्ब २० करोड ७४ लाख ७२ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा संकलन भएको ३ अर्ब २२ करोड ५२ लाख ६० हजार रुपैयाँभन्दा कम हो । भन्सार अधिकृत तेज बहादुर रावलका अनुसार लक्ष्यअनुसारको प्रगति नदेखिएपछि चालु वर्षमै राजश्व लक्ष्य पुरा गर्न कठिन देखिएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअनुसार राजश्व संकलन हुन नसकेपछि चालु आर्थिक वर्षका लागि कैलाली भन्सार कार्यालयले वार्षिक लक्ष्य नै घटाएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ का लागि कार्यालयले ९ अर्ब ७१ करोड १५ लाख ६ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य निर्धारण गरेको छ । तर पहिलो पाँच महिनाको प्रगति हेर्दा उक्त लक्ष्य हासिल गर्न चुनौती देखिएको भन्सार अधिकारीहरू स्वीकार गर्छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कैलाली भन्सार कार्यालयका लागि ११ अर्ब १६ करोड २६ लाख ३० हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य निर्धारण गरिएको थियो । तर आर्थिक वर्षको अन्त्यसम्ममा ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ मात्र संकलन हुन सक्यो, जुन कुल लक्ष्यको करिब ७७ प्रतिशत मात्र हो । त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा भने कार्यालयले ७ अर्ब ९१ करोड ८० लाख ९८ हजार रुपैयाँ राजश्व संकलन गरेको अभिलेख छ ।
भन्सार अधिकृत रावलका अनुसार हाल कैलाली भन्सार कार्यालयमा मुख्य रूपमा इन्धन, खाना पकाउने ग्यास, दालमोट, चामल, खाद्यान्न तथा अन्य उपभोग्य वस्तुहरूको आयातबाट राजश्व संकलन भइरहेको छ । तर पछिल्लो समय समग्र व्यापारिक गतिविधि सुस्त हुँदै जानु, आयात घट्नुले राजश्व संकलनमा प्रत्यक्ष असर परेको उनले बताए । व्यापार व्यवसायीहरूका अनुसार आर्थिक मन्दीका कारण आयात घटेको छ भने स्थानीय उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिले पनि केही वस्तुको आयातमा कमी आएको छ । यसका साथै भारतसँगको खुला सीमाका कारण हुने अवैध कारोबार र तस्करीले वैध आयात घट्दै गएको उनीहरूको भनाइ छ ।
अर्थविद्हरूका अनुसार उत्पादन र आयातको यथार्थ अवस्थाको गहिरो अध्ययन नगरी उच्च राजश्व लक्ष्य निर्धारण गरिँदा भन्सार कार्यालयहरू बारम्बार लक्ष्य भेट्न असफल हुने गरेका छन् । जबसम्म व्यापार प्रवर्द्धन, आयात–निर्यात सन्तुलन, तस्करी नियन्त्रण तथा भन्सार व्यवस्थापन सुधार जस्ता विषयमा प्रभावकारी कदम चालिँदैन, तबसम्म आगामी दिनमा पनि कैलाली भन्सार कार्यालयका लागि राजश्व लक्ष्य हासिल गर्नु चुनौतीपूर्ण नै रहने देखिन्छ ।


