धनगढी । धनगढी उपमहानगरपालिका–१३ मा अवस्थित विद्याभूषण पब्लिक स्कुलले विद्यालयस्तरीय क्रिकेटमा उल्लेखनीय इतिहास रच्दै पछिल्लो तीन हप्तामै लगातार तीन ठूला उपाधि हात पारेको छ। लामो समयदेखि धनगढी तथा आसपासका क्रिकेट प्रतियोगितामा नियमित सहभागिता जनाउँदै आएको विद्याभूषणले उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो दबदबा थप सुदृढ बनाएको हो। विद्यालयका संस्थापक डिकेन्द्र जंग कुँवरको प्रत्यक्ष उपस्थिती र निरन्तर हौसलाले खेलाडीहरू थप प्रेरित देखिन्छन्। जहाँ प्रतियोगिता हुन्छ, त्यहाँ आफैँ नपुगी नमान्ने कुँवर खेल सकिन्जेल बाउण्ड्री लाइन नजिकै उभिएर खेलाडीहरूलाई उत्साहित गरिरहेका दृश्यहरू अहिले विद्याभूषणको पहिचान बनेका छन्।
पहिलो उपाधि:धनगढी प्याब्सन क्रिकेट कप
मंसिर १८ गते धनगढी नगर प्याब्सन कमिटीद्वारा आयोजित धनगढी प्याब्सन क्रिकेट कपमा विद्याभूषणले रोमाञ्चक जित निकाल्दै पहिलो उपाधि रक्षा गर्यो। फाइनलमा स्टेपिङ स्टोन स्कुललाई अन्तिम बलअघि नै स्तब्ध पार्दै विद्याभूषणले उपाधि उचालेको थियो। सो प्रतियोगितामा धनगढीका २४ विद्यालय सहभागी थिए। उक्त उपाधि जितेसँगै विद्याभूषण धनगढी उपमहानगरपालिकाबाट छनोट भई प्याब्सन जिल्लास्तरीय प्रतियोगितामा सहभागी भयो र त्यहाँ पनि उपाधि जित्दै आफ्नो क्षमता पुनः प्रमाणित गर्यो।
दोस्रो उपाधि: राइजिङ स्टार प्रीमियर लिग
मंसिर २७ गते शनिबार धनगढी–६ स्थित श्रीकृष्ण खेल मैदानमा सम्पन्न वाल्मीकि–२ प्रथम राइजिङ स्टार प्रीमियर लिगको उपाधि पनि विद्याभूषणले आफ्नो पोल्टामा पार्यो। राइजिङ स्टार बोर्डिङ स्कुलको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा विद्याभूषणले पुनः स्टेपिङ स्टोन स्कुललाई पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। धनगढी, गोदावरी र बेलौरीका गरी २४ टोली सहभागी रहेको प्रतियोगितामा विद्याभूषणको सन्तुलित र अनुशासित खेल प्रशंसनीय रह्यो।
तेस्रो उपाधि: प्रथम चैतन्य पाठशाला कैलाली कप
पौष १ गते कैलाली प्याब्सनको आयोजनामा धनगढीको फाप्लामा सम्पन्न प्रथम चैतन्य पाठशाला प्याब्सन जिल्लास्तरीय कैलाली कप क्रिकेट प्रतियोगिताको उपाधि जित्दै विद्याभूषणले उपाधि ह्याट्रिक पूरा गर्यो। फाइनल खेलमा विद्याभूषणले लम्किचुहा नगरपालिकाको कैलाली नेसनल एकेडेमीलाई १ विकेटले पराजित गर्दै अविश्वसनीय जित निकालेको हो। अन्तिम ओभरमा ७ रन आवश्यक रहँदा विद्याभूषणका खेलाडीले पहिलो बलमै चौका र त्यसपछि छक्का प्रहार गर्दै उपाधि सुरक्षित गरे। सुझबुझपूर्ण र आत्मविश्वासी खेल देखेर दर्जनौं निजी विद्यालयका सञ्चालक तथा खेलप्रेमी चकित परेका थिए।

पीयूष बोहराको चम्किलो प्रदर्शन
उक्त प्रतियोगितामा विद्याभूषण पब्लिक स्कुलका कक्षा ८ मा अध्ययनरत खेलाडी पीयूष बोहराले विशेष चर्चा बटुले। उनले एकैदिन तीन विधामा अवार्ड जित्दै प्रतियोगिताको स्टार खेलाडीको रूपमा आफूलाई स्थापित गरे।
बढ्दो दबदवा
पछिल्लो समय विद्याभूषणको खेल स्तर हेर्दा अब सामान्य तयारीका भरमा धनगढीमा विद्यालयस्तरीय क्रिकेटमा उसलाई पराजित गर्नु अन्य टोलीका लागि ठूलो चुनौती बन्दै गएको देखिन्छ। यद्यपि विद्यालयले अझ परिस्कृत र बलियो तयारी गर्नुपर्ने आवश्यकता स्वीकार गरे पनि यही लय कायम रहे विद्याभूषण पब्लिक स्कुलको विद्यालयस्तरीय क्रिकेटमा दबदवा अझ बढ्ने निश्चित देखिन्छ। तीन हप्तामै तीन उपाधि जित्नु दुर्लभ उपलब्धि हो, जसले विद्याभूषण हार्न नजाने टोलीको रूपमा स्थापित हुँदै गएको स्पष्ट संकेत दिएको छ।


