धनगढी: धनगढीमा जारी सुदूरपश्चिम महोत्सव २०८२ ले दर्शकको उत्साह, व्यापारिक चहलपहल र सांस्कृतिक रौनक एकसाथ बढाउँदै समापन मिति समेत थप गरेको छ। निरन्तर बढ्दो दर्शक चाप र सरोकारवालाहरूको आग्रहलाई ध्यानमा राख्दै आयोजक कैलाली उद्योग वाणिज्य संघ ले महोत्सवको अवधि पुस ६ गतेसम्म कायम गर्ने निर्णय गरेको हो। महोत्सव सञ्चालनको आठौँ दिनसम्म आइपुग्दा करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भइसकेको संघले जनाएको छ। यस अवधिमा अनुमानित ३ लाख दर्शक महोत्सव स्थलमा पुगेका छन्। व्यापारिक स्टल, स्थानीय उत्पादन, खानपान, मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रमले दर्शकलाई आकर्षित गर्दा महोत्सव धनगढीको आर्थिक गतिविधिको केन्द्र बनेको देखिन्छ।
आयोजकका अनुसार महोत्सवले केवल कारोबारमा मात्र नभई स्थानीय उद्योग–व्यवसाय प्रवर्द्धन, पर्यटन विकास र सुदूरपश्चिमको सांस्कृतिक पहिचान उजागर गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने अवसर बनेको महोत्सवले साना तथा मझौला व्यवसायीलाई पनि प्रत्यक्ष लाभ पुर्याएको संघको दाबी छ। २०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सवको यो १९औँ संस्करण हो। देश आर्थिक तथा सामाजिक चुनौतीको चरणबाट गुज्रिरहेको अवस्थामा उद्योग–व्यवसायमा आशा र आत्मविश्वास जगाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।
संघका अध्यक्ष पुष्कर राज ओझा ले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यवसायी, प्रायोजक, सुरक्षा निकाय, कलाकार, सञ्चारकर्मी र दर्शकप्रति आभार व्यक्त गरेका छन्। उनले बाँकी दिनहरूमा पनि अझ व्यवस्थित र आकर्षक कार्यक्रममार्फत महोत्सवलाई भव्य बनाइने विश्वास व्यक्त गर्दै सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा रहेको बताए। आयोजक संस्थाले सुदूरपश्चिम महोत्सवलाई प्रदेशस्तरमै सीमित नराखी राष्ट्रकै नमुना महोत्सवका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। यसका लागि सबै राजनीतिक दल, तीनै तहका सरकार, सरकारी तथा गैरसरकारी संस्था, पत्रकार, विद्यार्थी र आम नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।
व्यापार, संस्कृति र मनोरञ्जनको संगम बनेको सुदूरपश्चिम महोत्सवले बाँकी दिनहरूमा अझ ठूलो भीड, थप कारोबार र नयाँ ऊर्जा भित्र्याउने अपेक्षा गरिएको छ।


