धनगढी: सुदूरपश्चिम प्रदेश सभाको बैठक कहिले बस्ने भन्ने विषय अझै अनिश्चित बनेको छ । जेन्जी आन्दोलनका क्रममा आगजनी भएर क्षति पुगेको प्रदेश सभा भवनको मर्मत कार्य पूरा नभएकाले बैठक सञ्चालनको टुङ्गो लाग्न नसकेको हो । गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीले सुदूरपश्चिम प्रदेश सभा भवनमा आगजनी गरेका थिए ।
आगजनीका कारण सभा हलसहित भौतिक संरचना, फर्निचर र उपकरणमा ठूलो क्षति पुगेपछि प्रदेश सभाको छैटौँ अधिवेशन बीचमै रोकिएको थियो । हाल प्रदेश सभा भवनको मर्मत कार्य जारी रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले भवन मर्मतका लागि २० लाख रुपैयाँ बजेट निकासा गरेको र सोही बजेटबाट सभा हलको मर्मत कार्य भइरहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । उनँका अनुसार मर्मत कार्य सुरु भइसकेको छ र अर्को हप्ताभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रदेश सभा परिसर अहिले सुनसान छ । घटना भएको तीन महिना बितिसक्दा मर्मतको कार्य सुस्त गतिमा भइरहेको छ । प्रदेश सभा भवन तयार नहुँदा हिउँदे अधिवेशन कहिले सुरु हुने भन्ने टुङ्गो लागेको छैन । बैठक नबस्दा अति आवश्यक कानुन निर्माण र संशोधनको प्रक्रिया समेत ठप्प भएको छ । सचिवालयका सूचना अधिकारी जैसीका अनुसार भवन मर्मतको काम सम्पन्न हुन अझै कम्तीमा दुई साता लाग्ने देखिन्छ ।
‘अहिले मर्मतको काम भइरहेको छ, तर यतिले मात्र सभा सञ्चालन गर्न सकिने अवस्था छैन,’ जैसीले भने, ‘संरचना मर्मत सकिएपछि पनि फर्निचर व्यवस्थापन र साउन्ड सिस्टमलगायतका प्राविधिक उपकरण जडानमा थप समय लाग्नेछ ।’ उनका अनुसार तत्कालै प्रदेश सभाको बैठक बस्ने सम्भावना पनि कम छ । छैटौँ अधिवेशन चलिरहेकै अवस्थामा भएको आगजनीले प्रदेशको संसदीय अभ्यासलाई नै ‘ब्रेक’ लगाइदिएको छ । सांसदहरू पनि फुर्सदिला बनेका छन् ।
सांसद बस्ने कुर्सी र बोल्ने माइक किन्न बजेटको अभाव देखिएको छ । संसदको बैठक कक्षका फर्निचर र उपकरण जोड्नका लागि अहिले प्रदेश सभा सचिवालयले दातृ निकायको मुख ताक्नुपर्ने अवस्था सिर्जना भएको छ । जलेका फर्निचर र उपकरण पुनः जडान गर्न युएनडीपी र युएनएफपी जस्ता दातृ संस्थाहरूसँग सहयोगको याचना गरिरहेको जनाइएको छ । सचिवालयका अनुसार ती संस्थाले सहयोग गर्ने आश्वासन दिए पनि कहिले र कसरी सहयोग प्राप्त हुन्छ भन्ने यकिन नहुँदा संसद् बैठकको अनिश्चितता थप लम्बिएको छ ।


