धनगढी। जिल्ला प्रहरी कार्यालय कैलालीले मंसिर महिनाभरि फरार रहेका ३४२ जना प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना बाँकी रहेका प्रतिवादीलाई खोजी–खोजी पक्राउ गरी कानुनी कारबाहीका लागि अदालत पेश गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका सबै इलाका प्रहरी कार्यालयमार्फत सञ्चालन गरिएको विशेष अपरेसनअन्तर्गत फरार प्रतिवादीहरू पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीले कैद तथा जरिवानाको फैसला सुनाएका तर लामो समयदेखि फरार रहेका प्रतिवादीलाई प्राथमिकतामा राखी अभियान चलाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय कैलालीले २०४ जना फरार प्रतिवादी पक्राउ गरेको छ। त्यसैगरी इलाका प्रहरी कार्यालय मालाखेतीबाट ३० जना, टीकापुरबाट ३३ जना, भजनीबाट २७ जना, सुखडबाट १६ जना, सड्कपुरबाट ८ जना, लम्कीबाट २१ जना र चिसापानीबाट ३ जना पक्राउ परेका छन्। पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। फरार प्रतिवादी पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतको फैसला कार्यान्वयन गराउने, कानुनको शासन कायम गर्ने तथा अपराध नियन्त्रणका लागि फरार प्रतिवादी पक्राउ अभियानलाई थप प्रभावकारी बनाइने छ। प्रहरी प्रशासनले अदालतको फैसला कार्यान्वयनमा सहयोग गर्न सर्वसाधारणलाई समेत सूचनादिन आग्रह गरेको छ।


