धनगढी — कैलालीका स्थानीय तहहरूमा बेरुजु फर्छ्यौटप्रति गम्भीरता नदेखिँदा बर्सेनि बेरुजुको आकार थपिँदै गएको तथ्य सार्वजनिक भएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन २०८२ अनुसार जिल्लाका अधिकांश पालिकामा पछिल्ला तीन आर्थिक वर्षमा उल्लेख्य बेरुजु फर्छ्यौट हुन सकेको छैन। जिल्लामा सबैभन्दा बढी बेरुजु रहेको गोदावरी नगरपालिका मा तीन आर्थिक वर्षको अवधिमा एक रुपैयाँ बराबरको पनि बेरुजु फर्छ्यौट नभएको देखिएको छ। आर्थिक वर्ष २०७८/०७९ मा गोदावरीको बेरुजु ४३ करोड ८६ लाख ३१ हजार रुपैयाँ थियो। त्यसपछि २०७९/०८० मा फर्छ्यौट हुन नसक्दा थप ५ करोड ४२ लाख ७६ हजार रुपैयाँ बेरुजु जोडिएर कुल बेरुजु ४९ करोड २९ लाख ७ हजार रुपैयाँ पुगेको थियो।
त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा पनि पुराना बेरुजु यथावत् रहँदै नयाँ ५ करोड ८ लाख ७३ हजार ६१५ रुपैयाँ थपिएपछि गोदावरी नगरपालिकाको कुल बेरुजु ५४ करोड ३७ लाख ८० हजार ६१५ रुपैयाँ पुगेको छ। प्रतिवेदनले नगरपालिकाले प्रतिक्रियाबाट आएका बेरुजु केही हदसम्म फर्छ्यौट गरे पनि अद्यावधिक बेरुजु समाधानतर्फ पर्याप्त ध्यान नदिँदा बेरुजु निरन्तर बढ्दै गएको संकेत गरेको छ।
घोडाघोडीको अवस्था पनि उस्तै
कैलालीकै घोडाघोडी नगरपालिका को अवस्था पनि सुधारोन्मुख देखिँदैन। यहाँ हाल कुल बेरुजु ५२ करोड ७१ लाख ७० हजार १५५ रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा बेरुजु फर्छ्यौट शून्य रहँदा २०८०/०८१ मा भने जम्मा ६२ हजार १६५ रुपैयाँ मात्र फर्छ्यौट भएको देखिन्छ। तर सोही वर्ष थप ३ करोड १७ लाख ४९ हजार ३१२ रुपैयाँ बेरुजु जोडिँदा कुल बेरुजु झनै बढेको हो।
अधिकांश पालिकामा एउटै प्रवृत्ति
गोदावरी र घोडाघोडी मात्र होइन, कैलालीका अधिकांश स्थानीय तहमा बेरुजु समाधानप्रति उदासीनता देखिएको प्रतिवेदनले औँल्याएको छ। बेरुजु फर्छ्यौटभन्दा नयाँ बेरुजु थपिँदै जाने प्रवृत्तिले जिल्लाभर आर्थिक अनुशासन कमजोर बन्दै गएको देखिन्छ। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन २०८२ अनुसार सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ मा मात्र २ अर्ब ११ करोड ४१ लाख ७ हजार रुपैयाँ बेरुजु देखिएको थियो। तीमध्ये कैलालीका १३ स्थानीय तहमा ४७ करोड ६९ लाख २४ हजार २९३ रुपैयाँ बेरुजु रहेको उल्लेख छ।
पालिकाअनुसार बेरुजुको विवरण
आर्थिक वर्ष २०८०/०८१ मा देखिएको बेरुजु विवरणअनुसार चुरे गाउँपालिका मा ७ करोड ६ लाख ७३ हजार, लम्कीचुहा नगरपालिका मा ५ करोड ५७ लाख ८८ हजार, भजनी नगरपालिका मा ४ करोड ७४ लाख ९५ हजार, धनगढी उपमहानगरपालिका मा ४ करोड ७२ लाख ६९ हजार र टीकापुर नगरपालिका मा ४ करोड २९ लाख ७ हजार रुपैयाँ बेरुजु रहेको छ। त्यसैगरी कैलारी गाउँपालिका मा ३ करोड ३८ लाख २५ हजार, गौरीगंगा नगरपालिका मा ३ करोड २० लाख ९५ हजार, जानकी गाउँपालिका मा १ करोड ५५ लाख ९० हजार, बर्दगोरिया गाउँपालिका मा १ करोड ३६ लाख १४ हजार र जोशीपुर गाउँपालिका मा ९६ लाख ७९ हजार रुपैयाँ बेरुजु देखिएको छ।
कुल बेरुजु चार अर्ब नाघ्यो
आर्थिक वर्ष २०८०/०८१ मा थपिएको बेरुजुसँगै कैलाली जिल्लाका पालिकाहरूको कुल बेरुजु ४ अर्ब ११ करोड ७ लाख २६ हजार १९६ रुपैयाँ पुगेको छ। यसमध्ये गोदावरी नगरपालिका मा ५४ करोड ३७ लाख ८० हजार ६१५, घोडाघोडी नगरपालिका मा ५२ करोड ७१ लाख ७० हजार १५५, लम्कीचुहा नगरपालिका मा ५२ करोड ६४ लाख २९ हजार ७२२ र भजनी नगरपालिका मा ३७ करोड ३९ लाख ६१ हजार ८१५ रुपैयाँ बेरुजु रहेको छ।
त्यस्तै टीकापुर नगरपालिका मा ३४ करोड ५१ लाख ५० हजार २२१, गौरीगंगा नगरपालिका मा ३३ करोड ३६ लाख ३ हजार ५३८, धनगढी उपमहानगरपालिका मा ३० करोड ६८ लाख ५७ हजार ६४९, जानकी गाउँपालिका मा २१ करोड ३० लाख ५५ हजार ५६३, बर्दगोरिया गाउँपालिका मा १८ करोड ४२ लाख ५० हजार २८२, चुरे गाउँपालिका मा १६ करोड ७१ लाख ४ हजार ९३० र जोशीपुर गाउँपालिका मा १२ करोड ९७ लाख २३ हजार ४७५ रुपैयाँ बेरुजु पुगेको छ।


