धनगढी: धनगढीस्थित डिस्कभरी माध्यमिक विद्यालयमा अभिभावक, शिक्षक तथा विद्यार्थीबीच आपसी समझदारी, समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको
अभिभावक उत्प्रेरणा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। विद्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अभिभावक, शिक्षक, पत्रकार तथा विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै विद्यालयका प्राचार्य योगेन्द्र सिंहले अभिभावक र विद्यालयबीचको सहकार्यले विद्यार्थीको शैक्षिक प्रगति मात्र नभई नैतिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीको वास्तविक प्रगति विद्यालय र अभिभावकबीचको बलियो समन्वयबाट मात्र सम्भव हुन्छ। यस्ता कार्यक्रमले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्छन्।” उहाँले अभिभावकहरूलाई विद्यालयका गतिविधिमा सक्रिय रूपमा सहभागी हुनसमेत आग्रह गर्नुभयो।
कार्यक्रमका प्रमुख वक्ता क्षेत्रप्रसाद ज्ञवालीले अभिभावकलाई लक्षित गर्दै बालबालिकाको पढाइमा अभिभावकको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो। उहाँले बालबालिकालाई मानसिक रूपमा सशक्त र आत्मविश्वासी बनाउन अभिभावकको व्यवहार, समय व्यवस्थापन तथा घरको वातावरण निर्णायक हुने उल्लेख गर्नुभयो। उहाँले अभिभावकलाई विशेष सुझाव दिँदै भन्नुभयो, “बालबालिकाले पढिरहेको समयमा अभिभावकले मोबाइल फोन प्रयोग नगर्ने, उनीहरूसँगै बसेर पढाइमा सहयोग गर्ने, साथीको जस्तो व्यवहार गर्ने र झर्केर नबोल्ने बानी विकास गर्न आवश्यक छ। यसले बालबालिकामा पढाइप्रति सकारात्मक सोच विकास हुन्छ।”
कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्नो अनुभव तथा धारणा राख्दै विद्यालयले ल्याएको यो पहल अत्यन्तै सकारात्मक र उपयोगी रहेको प्रतिक्रिया दिएका थिए। अभिभावकहरूले यस्ता उत्प्रेरणामूलक कार्यक्रमले आफूहरूलाई पनि बालबालिकाको पठनपाठनमा कसरी सहयोग गर्ने भन्ने विषयमा थप प्रस्टता दिएको बताए।
कार्यक्रमको समापन सत्रमा विद्यालय प्रशासनले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै यसबाट अभिभावक–विद्यार्थी–विद्यालयबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेको छ। विद्यालयले विद्यार्थीको समग्र विकासका लागि अभिभावकसँग सहकार्य गर्दै थप रचनात्मक कार्यक्रम अघि बढाउने जनाएको छ।

