कैलाली। मौलिक लोक कला, भाषा, साहित्य, भेषभूषा संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनका लागि २०७५ सालमा स्थापना गरिएको सुप ईन्टरटेन्मेन्ट हाउस प्रा.लि. धनगढी र बाडुल्कि मिडिया हाउस प्रा.लि. कञ्चनपुरको संयुक्त आयोजनामा यस वर्ष पनि ‘चौथो राष्ट्रिय सुप ईन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ आयोजना हुने भएको छ।
आयोजक संस्थाका सचिव कृष्णा सिराडीका अनुसार अवार्डको तयारी तीव्र पारिएको छ। नेपाली गीत–संगीतका विभिन्न विधालाई समेटेर आयोजना गर्न लागिएको यस अवार्डमा यस वर्ष जम्मा १८ विधा समावेश गरिएको छ। अवार्डमा चर्चित गायक–गायिका, निर्देशक, अभिनेतादेखि नयाँ प्रतिभासम्मको प्रतिस्पर्धा रहनेछ।
अवार्डका लागि दर्शकले भोटिङ गर्न सक्ने व्यवस्था गरिएको छ। भोटिङ कोड सुप ईन्टरटेन्मेन्ट म्युजिक अवार्ड र बाडुल्कि मिडियाको आधिकारिक फेसबुक पेजमार्फत उपलब्ध गराइने आयोजकले जनाएको छ। साथै यस वर्ष सर्वोत्कृष्ट उद्घोषक र सर्वोत्कृष्ट कला पत्रकारिता विधा पनि थप गरिएको छ।
आयोजक संस्थाका अध्यक्ष अनुप चन्द ठकुरीका अनुसार भोटिङसँगै निर्णायक र आयोजक समितिको मूल्याङ्कनका आधारमा उत्कृष्ट पाँच मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिनेछ। अवार्डमार्फत अग्रज कलाकारको सम्मान र नयाँ कलाकारको प्रोत्साहन गर्ने उद्देश्य लिइएको उहाँले बताउनुभयो।
मनोनयन सूची (संक्षेप)
अवार्ड अन्तर्गत प्रमुख विधाहरूमा विभिन्न कलाकार तथा सर्जकहरू मनोनयनमा परेका छन्। मनोनयन सूचीमा देउडा गीत, भाषाभाषी गीत, गीत गायन (पुरुष/महिला), अभिनय, निर्देशन, छायाङ्कन, नवगायन, नवअभिनय लगायतका विधामा कलाकारहरूको नाम सार्वजनिक गरिएको छ। साथै सर्वोत्कृष्ट उद्घोषक र सर्वोत्कृष्ट कला पत्रकारिता विधामा समेत पाँच–पाँच जना मनोनयनमा परेका छन्।
संस्थाको भूमिका
सुप ईन्टरटेन्मेन्ट हाउस प्रा.लि. र बाडुल्कि मिडिया हाउस प्रा.लि. विगतदेखि नै सुदूरपश्चिम क्षेत्रमा रहेर कलाकारहरूको सम्मान, क्षमता विकास र मौलिक संस्कृतिको प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहँदै आएका छन्। यसअघि २०७६ सालमा नेपाल संगीत तथा नाट्य संगीत प्रज्ञा प्रतिष्ठानको आयोजनामा सुप ईन्टरटेन्मेन्टको सहकार्यमा राष्ट्रिय संगीत महोत्सव २०७६ समेत सम्पन्न भइसकेको छ।
आयोजकका अनुसार चौथो संस्करणको यस अवार्ड कार्यक्रम सुदूरपश्चिमको गीत–संगीत क्षेत्रका लागि महत्वपूर्ण उर्जा बन्ने विश्वास लिइएको छ।

