धनगढी । ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एमाले परित्यागको घोषणा गरेका बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पुनस् पार्टीकै क्रियाशील रहने बताएका छन् । १३ मंसिरमा भएको प्रतिनिधि चयनमा एकलौटी र गुटबन्दी गरिएको भन्दै चन्दले सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी परित्याग गरेको जानकारी दिएका थिए । तर, बुधबार फेरि सामाजिक सञ्जालमार्फत नै उनले एमालेमै क्रियाशील रहने निर्णय गरेको उल्लेख गरेका छन् ।
लामो छलफल र गहन समीक्षा पश्चात् प्रदेशका नेताहरुको आग्रहमा आफूले यो निर्णय लिएको उनले बताएका छन् । ‘नेकपा (एमाले) ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा मेरो बिमती भई एमाले पार्टी परित्याग गरिएको विषय हतार हतारमा सामाजिक सञ्जालमा पोष्ट गरिएको सन्दर्भमा पार्टीका जिम्मेवार नेतृत्वहरु क्रमशस् नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा निवर्तमान मुख्य मन्त्री माननीय राजेन्द्र रावल, केन्द्रीय सदस्य तथा निवर्तमान उद्योग मन्त्री माननीय दामोदर भण्डारी, सुदूरपश्चिम प्रदेश सरकारका भैतिक पूर्वाधार मन्त्री माननीय सुरेन्द्र पाल, योजना आयोगका माननीय सदस्य डा। हिरा चन्द लगायत जिम्मेवार नेता कमरेड साथीहरूसँगको लामो छलफल, गहन समीक्षा पश्चात् उहाँहरुको आग्रहमा साकारात्मक निष्कर्षका साथ नेकपा एमाले पार्टीमा क्रियाशील रहने निर्णय लिएको छु,’ चन्दले लेखेका छन् ।


