धनगढी: कञ्चनपुरको एक सामुदायिक वनबाट एकैदिन १ सय ३९ रुख कटान गरेर गायब पारिएको छ । जिल्लाको कृष्णपुर नगरपालिका– ७ स्थित गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब पारिएको हो । डिभिजन वन कार्यालयका अनुसार ११ मंसिरको दिउँसो एक घण्टाको अवधिमा ती रुख कटान गरेर गायब पारिएको हो । डिभिजन वन कार्यालयका प्रमुख सुरेशचन्द्र डीसीका अनुसार सामुदायिक वनमा रहेका ११६ वटा खयर, २२ वटा सिसौ र एक कन्जु गरी १३९ वटा रुख काटिएको छ ।
‘सामुदायिक वन नै रित्तो हुने गरी रुख कटान गरेर काठ गायब पारिएको छ,’ डिभिजन प्रमुख डीसीले भने, ‘हाल वन क्षेत्रमा मुढा मात्रै छोडिएको छ । केही जिम्मेवार व्यक्तिकै निर्देशनमा ६०–७० जना स्थानीयहरूको समूहले एक घण्टाको अवधिमा ती रुख काटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ उक्त क्षेत्रमा कोरियाली संस्थाको सहयोगमा प्राविधिक शिक्षालय स्थापनाको तयारीमा कृष्णपुर नगरपालिका छ । ‘शिक्षालय स्थापनाका लागि रुख कटान गर्नुपर्ने भएपछि जनप्रतिनिधिको निर्देशनमा रुखहरू काटेको बुझ्नमा आएको छ,’ डीसीले भने, ‘रुख कटानको अनुमतिका लागि प्रक्रिया लामो भएकाले स्थानीय बासिन्दालाई अगाडि सारेर रुख काटिएको हुन सक्छ ।’
एकैपटक ठूलो संख्यामा अवैध रूपमा रुख कटान भएपछि सवडिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाहको नेतृत्वमा छानबिन थालिएको डिभिजन वन प्रमुख डीसीले बताए । सामुदायिक वनमा अवैध रूपमा रुख काटेको विषयमा कृष्णपुर नगरपालिकाका जनप्रतिनिधसँग सोधपुछ भइसकेको डीसीले बताए । सामुदायिक वनका पदाधिकारीलाई पनि सोधपुछका लागि बोलाइएको डीसीले बताए । प्राविधिक शिक्षालय स्थापनाका लागि कष्णपुरका जनप्रतिनिधिले नै रुख काट्न निर्देशन दिएको आरोप लागेको छ ।


