धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नगरवासीलाई निःशुल्क रुपमा शव चिस्यान (फ्रिजिङ) सेवा उपलब्ध गराउँदै आएको छ । यो उपमहानगरपालिकाले विगत दुई वर्षको अवधिमा हालसम्म ५५६ परिवारलाई निःशुल्क शव चिस्यान (फ्रिजिङ) सेवा उपलब्ध गराएको छ । २०८० मंसिर ११ गतेदेखि सुरु भएको यो अभियानमार्फत उपमहानगरले बिहीबारसम्म ५५६ वटा शव सुरक्षित राख्न शव चिस्यान मेसिनको सहयोग पु¥याएको जनाएको छ । घरमा कसैको मृत्यु हुँदा विदेश वा टाढा रहेका परिवारजन तथा इस्टमित्र अन्तिम संस्कारका लागि आइपुगुन्जेल शवलाई सुरक्षित राख्न उपमहानगरले यो सुविधा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।
धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपाल हमालले विदेशमा रहेका सन्तानले आफ्ना अभिभावकको अन्तिम पटक अनुहार हेर्न पाउन् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको बताए । ‘आमा बुबालाई सुख दिन्छु भनेर विदेश गएका छोरा छोरीले बुबाआमाको अनुहार पनि हेर्न पाउँदैनन् । मृत्युलाई टार्न नसकेपनि अन्तिम पटक भएपनि अनुहार हेर्न पाउन् भनेर निःशुल्क सेवा सुरु गरेका हौँ,’ उनले भने । मृतकका आफन्तले काम विशेषले घरबाहिर भएका सदस्य नआउन्जेलसम्म शवलाई सुरक्षित राख्न निःशुल्करुपमा शव चिस्यान सेवाको उपयोग गर्दै आएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलवारी, ५३ नम्बर टोलका जंग चौधरीको मृत्यु भएपछि उनका आफन्तहरू कामविशेषले घरबाट टाढा रहेकोले नगर प्रहरीले घरमै चिस्यान उपकरण उपलब्ध गराएको थियो ।
आफन्तजन दुई दिनपछि आएपछि मृतकको दाहसंस्कार गरियो । उपमहानगरको शव चिस्यान उपकरणले जंगको शव घरमै सुरक्षित राख्न धेरै सहज भएको स्थानीयले बताए । उपमहानगरपालिकाले सञ्चालन गरेको शव चिस्यान केन्द्रका कारण मृतकका आफन्तहरूलाई निकै सहज भएको धनगढी ६ का बिष्णुदत्त खड्काले बताए ।
उपमहानगरपालिकाले सञ्चालन गरेको शव चिस्यान केन्द्रको सेवा लिनेहरूको संख्या बढ्दै गएको जनाएको छ । त्यस्तै, धनगढी उपमहानगरपालिकाले विपन्न परिवारलाई आफन्तको निधन हुँदा अन्तिम संस्कारका लागि नगद पाँच हजार रुपैयाँसमेत दिने गरेको छ ।

यसरी लिन सकिन्छ सेवा
उपमहानगरले सेवा प्रवाहका लागि २४सै घण्टा नगर प्रहरी परिचालन गरेको छ । नगरवासीले टोल फ्री नम्बर १८१०५००००९० तथा ०९१–५९०६९० मा सम्पर्क गरेर जानकारी गराउन सक्छन् । जानकारी प्राप्त हुनासाथ नगर प्रहरीले सानो ट्रकमार्फत शव चिस्यान मसिन सम्बन्धित घरसम्म पु¥याई जडान गरिदिने व्यवस्था छ । दाहसंस्कार सम्पन्न भएपछि प्रहरीले नै मसिन फिर्ता ल्याउने गरेका छन् । चिस्यान सेवाका अलावा उपमहानगरले शववाहनमार्फत घाटसम्म शव पु¥याउने, स्थायी बासिन्दालाई पाँच हजार रुपैयाँ काजक्रिया खर्च दिने र मृतकलाई सलामी अर्पण गर्ने कार्य समेत गर्दै आएको छ । हालसम्म नगर प्रहरीले ६५४ शवलाई घाटसम्म पु¥याइसकेको छ ।
सुरुवातमा दुई वटा मेसिनबाट थालिएको यो सेवा हाल ६ वटा मसिनमार्फत उपमहानगरका १९ वटै वडामा विस्तार गरिएको छ । ८५ जनाको नगर प्रहरी टोलीले तीन सिफ्टमा खटिएर ‘हर घडी नगर प्रहरी’ नारासहित सेवा प्रवाह गरिरहेको नगर प्रहरी जवान नवराज पाण्डेले जानकारी दिए ।


