धनगढी: धनगढी स्थित नवजीवन अस्पतालले आफ्नो २०औँ वार्षिकोत्सवको अवसर पारेर सेवा–सुविधामा उल्लेखनीय घोषणा गरेको छ। सुदूरपश्चिम प्रदेशको पहिलो निजी चिकित्सा संस्थाका रूपमा स्थापित यस अस्पतालले विगत दुई दशकदेखि गुणस्तरयुक्त सेवा र बिरामी–केन्द्रित हेरचाहलाई निरन्तरता दिँदै आएको छ।
वार्षिकोत्सवको विशेष कार्यक्रममा अस्पतालले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत साधारण तथा ल्यापरोस्कोपिक शल्यक्रियाका विद्यमान दरमा २५ प्रतिशत विशेष छुट घोषणा गरेको छ। अस्पतालका अनुसार यो छुट मंसिर १ गतेदेखि फागुन १७ गतेसम्म लागू हुनेछ। नवजीवन अस्पतालले दीर्घ अनुभव, आधुनिक प्रविधि तथा दक्ष चिकित्सक टोलीमार्फत क्षेत्रमा विश्वसनीय स्वास्थ्य सेवाको उदाहरण पेश गर्दै आएको छ। अस्पतालले शल्यक्रिया सेवामा गरिएको छुटले आर्थिक रूपमा कमजोर तथा मध्यम वर्गीय परिवारलाई राहत मिल्ने विश्वास लिएको छ।
अस्पतालले जारी विज्ञप्तिमा बिरामीलाई सहज, सुरक्षित र आत्मीय वातावरणमा उपचार सेवा उपलब्ध गराउने प्रतिवद्धता पुनः दोहोर्याउँदै आगामी दिनमा पनि सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर लागिरहने उल्लेख गरेको छ। २० वर्षे यात्रामा समुदायको निरन्तर विश्वास, साथ र सहयोगका लागि अस्पताल प्रशासनले आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा स्वास्थ्य सेवा प्रवाह गर्ने जनाएको छ।


