धनगढी: अन्तर्राष्ट्रिय अपाङ्गता दिवस–२०८२ का अवसरमा सुदूरपश्चिम प्रदेशमा विभिन्न सांस्कृतिक, खेलकुद र जनचेतनामूलक कार्यक्रमसहित सप्ताहव्यापी कार्यक्रम सञ्चालन हुने भएको छ। अपाङ्गता अधिकार अभियान सुदूरपश्चिम समितिले धनगढीमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारीबारे जानकारी गराइएको हो। अभियानका सचिव नन्दराज भट्टका अनुसार मंसिर १४ देखि १७ गतेसम्म प्रदेशभरका सरकारी तथा गैरसरकारी निकायहरू, समन्वय समितिहरू र १२ ओटा अपाङ्गता सम्वद्ध संघ–संस्थाको सहकार्यमा विविध गतिविधि आयोजना हुनेछन्।
कार्यक्रममा सहभागी हुने १२ संघ–संस्थामा सफल नेपाल, अटिजम केयर सेन्टर सोसाइटी नेपाल, नेत्रहीन संघ प्रदेश समिति, नेत्रहीन युवा संघ कैलाली, डाउन सिन्ड्रोम समाज, बौद्धिक अपाङ्गता अभिभावक संघ, समावेशी पारा एथलेटिक्स स्पोर्ट्स क्लब, अपाङ्गता समावेशी विकास मिसन टु नेपाल, सर्वाङ्गिण अपाङ्गता विकास समाज नेपाल लगायतका संस्था रहेका छन्।
कार्यक्रम तालिका
-
मंसिर १४: ह्विलचेयर दौड तथा ह्विलचेयर बास्केटबल प्रतियोगिता
-
मंसिर १५: चित्रकला प्रतियोगिता तथा म्युजिकल चेयर
-
मंसिर १६: वक्तृत्वकला, हाजिरीजवाफ प्रतियोगिता, दृष्टिविहीन क्रिकेट प्रतियोगिता, साँझ जेन्जी मार्ग पार्कमोडमा दीप प्रज्वलन
-
मंसिर १७: झाँकी तथा जागरण र्याली, टाउनहल मिटिङ तथा अपाङ्गता अधिकारसम्बन्धी बहुपक्षीय संवाद
कार्यक्रम प्रबक्ता नन्दराज भट्टले सप्ताहभरि सञ्चालन हुने गतिविधिले अपाङ्गता अधिकारप्रति जनचेतना अभिवृद्धि हुने र स्थानीय तहमा समावेशी समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे। सुदूरपश्चिम अपाङ्गता अधिकार अभियानकी संयोजक रुपा रानी राईलेसरकार, स्थानीय तह, गैरसरकारी संस्था तथा सरोकारवाला सबैलाई सक्रिय भूमिका, साझेदारी र सहयोगमार्फत कार्यक्रमलाई सफल बनाउन आग्रह गरिन्। उनले प्रदेशभरिको अपाङ्गता समुदायको अधिकार सुनिश्चितताका लागि यस्ता अभियानले ठूलो प्रभाव पार्ने बताइन्।
सप्ताहव्यापी कार्यक्रम सम्पन्नसँगै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको महत्व र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चिततामा प्रदेशले सार्थक कदम चाल्ने अपेक्षा गरिएको छ।


