धनगढी । एकीकृत समाजवादी कैलालीका अध्यक्ष र सचिवसहित बहुमत जिल्ला कमिटी नयाँ बनेको नेपाली कम्युनिस्ट पार्टीमा सामेल नहुने भएका छन्। अध्यक्ष विमल जोशी, सचिव दीर्घ जोशी, उपसचिव प्रेमलाल चौधरीसहित जिल्ला कमिटीका अधिकांश पदाधिकारी र सदस्य नेपाली कम्युनिस्ट पार्टीमा नजाने भएका हुन् । एकीकृत समाजवादीको जिल्ला कमिटी १२१ सदस्यीय छ। जिल्ला कमिटी बैठक गरेर एकतामा सामेल नहुने निर्णय गरेका छौं, हामी एमालेमा पनि जाँदैनौ, सचिव जोशीले भने, हामी पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली रहेको पार्टीमा जाँदैनौ । जोशीका अनुसार १२१ सदस्यीय जिल्ला कमिटीमा ९१ जनाले एकतामा सामेल नहुने बताएका छन् ।
यस्तै, अध्यक्ष जोशी, सचिव जोशी र उपसचिव चौधरीले सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कम्युनिस्ट आन्दोलनको बदनाम गर्ने मनसायले माओवादी, एकीकृत समाजवादी लगायत दर्जन बढी दलबीच एकता भएको बताइएको छ । जिल्ला कमिटी बैठकले पार्टी एकता सम्बन्धमा गम्भिर छलफल गरेको छ, विज्ञप्तिमा भनिएको छ, अहिलेको एकतामा १० दल हैं दै १२ दल र अहिले १३ दलको हवाला दिइँदैछ । वास्तवमा यो एकतामा कुनै पनि पार्टी संग्लो रुपमा सहभागी छैनन् । अर्कोतर्फ आधारभुत संगठन नै नभएका पार्टीहरु एकतामा सहभागी छन्। यसले कम्युनिस्ट आन्दोलनको एकतामा योगदान नपु¥याई क्षति पुरयाउने निश्चित छ। यो कम्युनिस्ट सिद्धान्तमा आधारित एकता होइन । यो केबल नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने र कम्युनिस्ट आन्दोलनको बदनाम गर्ने मनसायले भएको एकता हो।
अहिलेको अवस्थामा एमाले अध्यक्ष ओलीले पनि कम्युनिस्ट आन्दोलनलाई बिसर्जनको बाटोमा लगिरहेको विज्ञप्तिमा आरोप लगाइएको छ । नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटी कैलालीले कम्युनिस्ट विरोधी एकतामा सहभागी नहुने निर्णय गरिसकेको छ, अध्यक्ष जोशीले भने, हामीले सम्पूर्ण सदस्यलाई पुर्नगठनमा लाग्न अनुरोध गरेका छौ । नेपाली कम्युनिस्ट पार्टीको भोलि धनगढीमा एकतासभा भइरहेको छ । सभालाई सम्बोधन गर्न नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल पनि आइरहेका छन् । एकतासभाको पूर्वसन्धयामा जिल्ला कमिटीले नै एकतामा सामेल नहुने निर्णय गरेको हो।

