धनगढी — विभिन्न विकास आयोजनाहरूको ठेक्का लिएर काम अधुरै छाड्दै जाने तेडी निर्माण सेवा प्रालि फेरि विवादमा आएको छ। कैलालीको गोदावरी नगरपालिका–३ मा पर्ने ओलानी–बाद्रेखाल सडक कालोपत्र गर्ने जिम्मा २०७९ चैतमा लिएको कम्पनीले तोकिएको समयमा काम नगरेपछि स्थानीय वडाहरूले केही दिनअघि सडकमै कार्यालय सञ्चालन गर्दै विरोध जनाएका थिए। धनगढी–२ मा दर्ता भएको यो कम्पनीले कैलाली र डोटीमा मात्रै ७ वटा निर्माण योजना वर्षौंदेखि अधुरो राखेको पूर्वाधार विकास कार्यालयका अधिकारीहरू बताउँछन्।
कैलालीमा तीन सडक, दुई पुल, एक सडक योजना अलपत्र
कम्पनीले धनगढी उपमहानगरपालिका र प्रदेश सरकारअन्तर्गतका विभिन्न परियोजनामा काम सुरु गरेर पनि पूरा नगरी छाड्दै आएको छ। गोदावरीको ओलानी सडक कालोपत्रका लागि ६ करोड ६१ लाख रुपैयाँको ठेक्का सम्झौता भए पनि अहिले सम्म सब–बेस मात्र बनेको कार्यालय प्रमुख दीपक नेगीले बताए। स्थानीय आन्दोलित पक्षसँग नयाँ सहमति भएपछि अहिले काम फेरी सुरु भएको छ। शीतलपुर–सिमली सडकका लागि ६ करोड ८८ लाख रुपैयाँको ठेक्का २०७९ चैतमा लिए पनि हालसम्म जम्मा १५ प्रतिशतमात्र काम भएको इन्जिनियर हर्क जोशीले जानकारी दिए। कम्पनीले १ करोड ३४ लाख भन्दा बढी भुक्तानी पहिले नै लिएको छ।
धनगढी–६ सुकुटी नालामा दोघरा–जाली जोड्ने पुल र धनगढी–१६ भादा होमस्टे जाने घुरही खोलाको पक्की पुल पनि वर्षौँदेखि रोकिएका छन्। दुवै योजनामा पेस्की लिएर कम्पनी सम्पर्कविहीन भएपछि उपमहानगरपालिकाले जमानत कट्टी गरी जेभीका अन्य कम्पनीमार्फत काम अघि बढाइरहेको छ। धनगढी–१२ जुगेडामा कालोपत्र गर्ने ठेक्का पनि ३९ लाख पेस्की लिई छाडेपछि उपमहानगरपालिकाले ठेक्का रद्द गरेको थियो। अदालतमा मुद्दा हारेपछि अहिले उक्त काम तेडीले नै गरिरहेको छ।
प्रदेश सरकारका दुई सडकमा पनि प्रगति न्यून
प्रदेश सरकारको गौरवपूर्ण भजनी–खिमडी सडक, कृष्ण मन्दिर–बान्द्रेखाल सडक र शीतलपुर–सिमली सडकमध्ये पहिलोको काम जेभी साझेदार मार्फत सम्पन्न भए पनि बाँकी दुई सडकमा तेडी निर्माण सेवा समयमै काममा जुट्न नसकेको कार्यालयले जनाएको छ।
डोटीको अस्पताल भवन पनि अधुरो
डोटीको केआईसिंह गाउँपालिकामा १० शय्याको अस्पताल भवन २०७९ असोजमै सकिनुपर्ने थियो। ८ करोड १५ लाख रुपैयाँको यो ठेक्का पनि पटक–पटक म्याद थपिँदा पनि पूरा नभएपछि स्वास्थ्य सेवा विस्तार नै प्रभावित भएको गाउँपालिकाले जनाएको छ। कम्पनीका सञ्चालक दिलबहादुर ओली र योजना हेर्ने उनका छोरा सिद्ध ओलीले यसबारे कुनै प्रतिक्रिया दिन मानेका छैनन्।


