धनगढी —नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो पार्टी पूर्ण रूपमा तयार रहेको दाबी गरेका छन्। शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले अहिलेसम्म निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको आरोप लगाउँदै, तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। रावलका अनुसार हालसम्म कारागारबाट फरार कैदीहरू पक्राउ नपर्नु, हतियार तथा गोलीबारुद नियन्त्रणमा नआउनु र सुरक्षा संवेदनशीलता उच्च रहनु जस्ता विषयले निर्वाचन वातावरणलाई प्रभावित पारेका छन्।
रावलले भने, “ताजा जनादेशका लागि हामी पूर्ण तयारी अवस्थामा छौँ। तर कैदी–बन्दी फरार छन्, हतियार नियन्त्रणमा आएका छैनन्। सरकारले वातावरण बनाउन ध्यान दिनुपर्छ। सुरक्षित वातावरण बनेमा नेपाली जनताले नेकपालाई भारी मत दिनेछन्।”
एकता सन्देश सभाबाट ‘जनलहर अझ उर्लिने’ दाबी
रावलले मंसिर १२ बाट सुरू हुने एकता सन्देश सभा ले देशभर नेकपाप्रति जनसमर्थन आणखी बढाउने दाबी गरेका छन्। उक्त सभाको सुरुवात धनगढी रङ्गशालाबाट हुँदैछ। कार्यक्रम दिउँसो साढे १२ बजे सुरू हुने र सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपालसहित अन्य शीर्ष नेताहरूले सम्बोधन गर्ने उनले जानकारी दिए। उक्त सभाका लागि रावलकै संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ।
भदौ २३–२४ का घटनाबारे ओलीप्रति आरोप
भदौ २३ र २४ गते धनगढीमा भएका हिंसात्मक घटनाबारे बोल्दै रावलले एमाले र कांग्रेसको ‘दम्भ’ ले घटना सृजना भएको उल्लेख गरे। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नै सबैभन्दा बढी जिम्मेवार रहेको आरोप लगाउँदै उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए।
‘सात वटा मुद्दा खेपेका व्यक्तिलाई संयोजक बनाउनु गलत’
एमालेले सातवटा आपराधिक मुद्दा खेपेका व्यक्तिलाई नेसनल भोलेन्टियर फोर्स को संयोजक बनाएको विषयमा रावलले कडा आलोचना गरे। आगामी निर्वाचनले यस्ता प्रवृत्ति पराजित हुने उनको दाबी थियो।
एमालेभित्र असन्तुष्टि बढ्दै, ठूलो समूह नेकपामा आउने दाबी
एमालेभित्र आन्तरिक विवाद र असन्तुष्टि तीव्र बनेको दाबी गर्दै रावलले ठूलो पङ्क्ति नेपाल कम्युनिस्ट पार्टीतर्फ आकर्षित भइरहेको दाबी समेत गरे।


