धनगढी – गायक नरेन्द्र रावल, सुरेस शाही र हेमन्ता भट्टराईको स्वरमा तयार भएको ‘झल्को रया’ म्युजिक भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको छ। सुदूरपश्चिम एभरेस्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोले सुदूरपश्चिमेली मौलिकता र समकालीन प्रेम–पीरको भावलाई समेटेको छ।
गीतमा शब्द–संगीत स्वयं नरेन्द्र रावलकै रहेको छ। मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको ‘झल्को रया’ को म्युजिक भिडियोमा पुस्कर अवस्थी, मनिसा सिंह ठकुरी र मदन खड्काले अभिनय गरेका छन्। कलाकारहरूको स्वाभाविक अभिव्यक्ति र कथावस्तुको प्रस्तुतीकरणले भिडियोलाई भावनात्मक बनाएको छ। भिडियो डडेल्धुराको सुन्दर दृश्यावलीमध्ये विभिन्न स्थानमा छायांकन गरिएको छ। सह-गायिका हेमन्ता भट्टराईका अनुसार गीतले मायाप्रेम, विछोड र स्मृतिको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। उनले दर्शक–श्रोताहरूसँग भिडियो हेरी प्रतिक्रिया दिन र अन्यमा पनि सेयर गर्न आग्रह गरेकी छन्।
सुदूरपश्चिमको कला, संस्कृति र मौलिकता बोकेको यस म्युजिक भिडियोले डिजिटल माध्यममार्फत दर्शक–श्रोताको मन जित्ने अपेक्षा राखिएको छ।


