धनगढी — कञ्चनपुरको कृष्णपुर नगरपालिकाले वडा नम्बर ५ का मानसिक समस्या भएका दुई दाजुभाइको निःशुल्क उपचारको व्यवस्था मिलाएको छ। आमा–बुबा गुमाइसकेर आश्रयविहीन बनेका ती दाजुभाइमा गम्भीर मानसिक समस्या देखिएपछि नगरपालिकाले आफ्नै पहलमा धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना गराएको हो। कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाका अनुसार दुवै दाजुभाइको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएपछि आर्थिक अभावका कारण उपचार सम्भव नभएको जानकारी पाएपछि नगरपालिकाले तत्काल उद्धार गर्दै अस्पतालसम्म पुर्याएको हो।
“हामीले दाजुभाइलाई नगरपालिकाको गाडीमै राखेर निसर्ग अस्पताल ल्याएर भर्ना गराएका छौँ। उपचार खर्चमा छुटका विषयमा अस्पतालसँग छलफल भइसकेको छ, बाँकी रकम नगरपालिकाले नै व्यहोर्छ,” मेयर ओझाले बताए। उनका अनुसार पछिल्लो समय नगर क्षेत्रमा मानसिक स्वास्थ्यसम्बन्धी चुनौती बढ्दै गएको छ र यस्तो अवस्थाले समुदायमै समस्या सिर्जना गर्ने भएकाले नगरपालिका स्वयं अग्रसर भएर उपचार व्यवस्थापन गर्दै आएको छ।
ती मध्ये दाइको अवस्था केही स्थिर भएको हुँदा नियमित औषधि उपचारका लागि उनलाई मानवसेवा आश्रममा राख्ने तयारी गरेको नगरपालिका बताउँछ। तर भाइको अवस्था गम्भीर रहेकाले उनलाई काठमाडौं वा अन्य उन्नत उपचार केन्द्रमा लैजानुपर्ने सम्भावना रहेको मेयर ओझाले जानकारी दिए। “जो जसलाई आवश्यकता छ, नगरपालिकाले उपचारका लागि जतिसक्दो सहयोग र व्यवस्थापन गर्छ,” मेयर ओझाले थपे।
स्थानिय सुरेश बि.कका अनुसार दाजुभाइमा समस्या देखिएपछि गाउँमै असहज परिस्थिति सिर्जना भइरहेकाले मेयरलाई सम्पर्क गरी अस्पताल पुर्याउन सहयोग मागिएको थियो। “मेयरसापले साँच्चिकै नगरपिताको भूमिका खेलिरहनुभएको छ। यो जत्रो मनका मेयर मैले देशभरि देखेको छैन,” उनले आफ्नो अनुभव सुनाए।
परिवारमा चट्याङ झैँ परेको पीडा
दुवै बिरामीकी दिदी बसन्ती बि.कले भाइहरूको अवस्था देखेर आफू मानसिकरूपमै कमजोर बनेको बताइन्। “दुई भाइ थिए, दुवैमा मानसिक समस्या देखियो। घर भत्किएको छ, खान–लाउन अभाव छ, कमाउने हात पनि त्यही थियो। यतिबेला नगरपालिका र अस्पतालले गरेको सहयोग जीवनकै ठूलो सहारा हो। पूर्ण उपचारसम्म यसरी नै साथ मिलिरहोस भन्ने हाम्रो एकै चाहना हो,” उनले भनिन्।
सार्वजनिक स्वास्थ्यप्रति नगरपालिकाको सक्रियता
कृष्णपुर नगरपालिकाले पछिल्लो समय आर्थिक अभावका कारण उपचार गर्न नसक्ने नागरिकका लागि अस्पतालसँग सहकार्य गर्दै निःशुल्क वा छुटसहितको उपचार उपलब्ध गराउँदै आएको छ। मानसिक स्वास्थ्यलाई अन्य बीमारिका जस्तै प्राथमिकतामा राख्दै नगरपालिकाले समुदायमै जनचेतना, सहजीकरण र सहयोग विस्तार गरिरहेको मेयर ओझाले बताए।

