धनगढी: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा कोटाभन्दा बढी धान खरिद गरेको छ । यसवर्ष पहिलो चरणमा ३५ हजार क्विन्टल धान खरिदको कोटा पाएको खाद्यले ३७ हजार ५५ दशमलव ९१ क्विन्टल धान खरिद गरेको हो । खाद्यले असोज १० गतेदेखि कैलालीमा छ वटा खरिद केन्द्रबाट धान खरिद कार्य सुरु गरेको थियो । दुई हप्ताभित्रै कोटा अनुसार धान आएपछि अन्तिमतिर कुपन बाँड्दै खाद्यले धान खरिद कार्य स्थगित गरेको थियो ।
कुपन वितरण गर्दा किसानले भनेको परिमाणभन्दा ल्याएको धान बढी भएपछि कोटाभन्दा बढी खरिद भएको प्रमुख दीपक थापाले बताए । उनले पहिलो चरणको धान खरिद कार्य सकिएको जनाउँदै अब दोस्रो चरणको खरिद कोटाका लागि गृहकार्य भइरहेको उल्लेख गरे।
“उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको टोली रकमान्तर गरेर भए पनि दोस्रो चरणको खरिद कोटाको लागि गृहकार्य गरिरहेको छ”, थापाले भने,“दोस्रो चरणको कोटा आउन पनि सक्छ नआउन पनि सक्छ । निश्चित छैन तर, प्रयास भइरहेको छ ।”
खाद्यले धान खरिद गर्न स्थगित गरेपछि किसान समस्यामा परेका छन् । खाद्यलाई धान बेच्न नपाएका कतिपय किसानले गुजाराका लागि सस्तोमा फेरि व्यापारीलाई धान बिक्री गर्न बाध्य भएका छन् ।


