धनगढी । गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालत परिसरमा भएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–१ बाट पक्राउ परेका उनीहरूलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चौडी घर भई हाल धनगढी–३ बस्दै आएका २४ वर्षीय भरत बम रहेका छन्।
डीएसपी सिंहका अनुसार भदौ २४ गतेको जेन्जी आन्दोलनकै क्रममा धनगढी उपमहानगरपालिका–१ स्थित जिल्ला अदालत परिसरभित्र पार्क गरिएका सवारीसाधन, अदालत भवन, कार्यालय कक्ष तथा विभिन्न मुद्दाका सक्कलै मिसिल (कागजात) मा आगजनी र तोडफोड भएको थियो। साथै, अदालतभित्र रहेका कम्प्युटर तथा अन्य सूचना प्रविधिसम्बन्धी उपकरणमा समेत व्यापक क्षति पुगेको थियो।
घटनापछि जिल्ला अदालत कैलालीले दोषी पहिचान गरी कानुनी कारबाहीको लागि प्रहरीमा जाहेरी दिएको थियो। अदालतले दिएको यही जाहेरीको आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै तीनै जनालाई धनगढीबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

