धनगढी: धनगढीलाई सफा, हरियो, उज्यालो र सुरक्षित शहरको रूपमा विकसित गर्ने उद्देश्यसहित ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियन्तर्गत आज भव्य साइकल र्याली सम्पन्न गरिएको छ। जनस्तरमा सरसफाइप्रति थप प्रभावकारी जागरण फैलाउने लक्ष्यसहित धनगढी उपमहानगरपालिकाले आयोजना गरेको र्यालीमा स्थानीयदेखि जनप्रतिनिधि, विद्यार्थी, स्वयंसेवक तथा कर्मचारी गरी करिब दुई सय जनाको सहभागिता थियो।
धनगढी चौराहाबाट सुरु भएको र्याली क्याम्पस रोड हुँदै पार्कमोडमा पुगेर सम्पन्न भयो। सहभागीहरूले हातमा सरसफाइसम्बन्धी सन्देशयुक्त प्लेकार्ड बोकेर सहर सफा राख्न जनचेतना फैलाए। पछिल्ला वर्षमा उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको ‘सफा र हरियाली धनगढी’ कार्यक्रमले सहरको दृश्यात्मक तथा भौतिक स्वरूपमा उल्लेखनीय सुधार देखिए पनि अझै जनतास्तरमा सचेतना विस्तार आवश्यक रहेको भन्दै यस्तो र्यालीको आवश्यकता देखाइएको हो।
साइकल यात्री कोपिला कुँवरले सरसफाइ अभियान प्रशासनले मात्र होइन, हरेक नागरिकले जिम्मेवारीसहित अघि बढाउनुपर्ने बताइन्। “सहर सफा राख्नु सबैको कर्तव्य हो। नियमित साइकल चलाउँदा वातावरणमैत्री मात्र हुँदैन, स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ,” उनले भनिन्।
यस्तै, वर्षौंदेखि साइकलमा यात्रा गर्दै आएका साइकलयात्री महन्त पनेरुले उपमहानगरको सफा शहर अभियान ‘अत्यन्तै उत्कृष्ट’ रहेको उल्लेख गर्दै निरन्तरता र जनसहभागिता बढाउन आग्रह गरे। “साइकल चलाउँदा प्रदूषण न्यूनीकरणमा पनि ठोस योगदान पुग्छ, यो जीवनशैलीले सहरलाई मात्रै होइन, हामी सबैलाई स्वस्थ बनाउँछ,” उनले भने।
र्यालीमा सहभागी प्रदेशसभा सदस्य रमेश सिंह धामीले धनगढीले देशमै सफासुन्दर शहर अभियानको आदर्श प्रस्तुत गर्न थालेको धारणा राखे। “धनगढीको अहिलेको परिवर्तन अन्य स्थानीय तहका लागि सिकाइको विषय बनेको छ। यस्तो अभियानलाई थप सशक्त बनाउन सबैको सहभागिता अनिवार्य छ,” उनले भने। नियमित साइकल चलाउने आफूले स्वास्थ्यमा उल्लेखनीय सुधार पाएको बताएका धामीले नागरिकलाई पनि सहर सुन्दर बनाउन योगदान दिन आग्रह गरे।
यसैबीच, सरसफाइमैत्री शहर अभियानअन्तर्गत उपमहानगरले विद्यार्थीबीच “अबको धनगढी कस्तो हुनुपर्छ ?” शीर्षकमा चित्रकला प्रतियोगितासमेत आयोजना गर्यो। विद्यार्थीहरूले भविष्यको धनगढीबारेको आफ्नो कल्पना रंग र रेखामार्फत प्रस्तुत गर्दै सरसफाइ, हरियाली, वातावरण, यातायात व्यवस्थापन तथा पूर्वाधार विकासजस्ता मुख्य विषय समेटे। यो गतिविधिले बालबालिका तथा किशोर–किशोरीमा जिम्मेवारीबोध, सकारात्मक सोच र भविष्य–केन्द्रित चेतनाको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उपमहानगरको भनाइ छ।
धनगढी उपमहानगरपालिकाले यस्ता अभियानको प्रभाव निरन्तर बढाउँदै सहरलाई देशकै आदर्श ‘सफा, हरित र सुरक्षित’ शहरको रूपमा स्थापित गर्ने लक्ष्य दोहोर्याएको छ।



