धनगढीः सुदूरपश्चिमको तीन जिल्लाबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र बैतडीको विभिन्न स्थानबाट शुक्रवार प्रहरीले भन्सार छलीको सामान बरामद गरेको हो। कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट ९१ हजारको साडी, सुटपिस, कुर्ति, धोती, सल, बेल्ट लगायतका सामान प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाबाट १ लाख ८२ हजार ६ सयको कष्मेटिक र किराना सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ। उता बैतडीको दशरथचन्द नगरपालिका–६ घुमापिपलबाट १ लाख ४ हजार ४ सयको बिडी, मोटसाइकल एक थान लगायतका सामान जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

