धनगढी: कैलालीमा प्रहरीले अपराध नियन्त्रण र सुरक्षाको प्रत्याभूति दिलाउन थालेको अभियानले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले कात्तिक ११ देखि २२ गतेसम्मको १२ दिनको अवधिमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न ५९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका तथ्यांकअनुसार, उक्त अवधिमा लागूऔषध दुर्व्यसनीमा संलग्न २५ जना पक्राउ परेका छन् । उनीहरुबाट ३१ ग्राम १३० मिलीग्राम खैरो हेरोईन बरामद गरिएको छ । पक्राउ परेका विरुद्ध १५ वटा लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, फरार अभियुक्तहरूलाई पक्राउ गर्ने अभियान अन्तर्गत २१ जना फरार प्रतिवादी नियन्त्रणमा लिइएका छन् । तीमध्ये ५ जना चालु मुद्दाका प्रतिवादी र १६ जना फैसला कार्यान्वयनका फरार रहेका छन् । उनीहरूका मुद्दाअनुसार कुल कैद अवधी आठ महिना १४ दिन र जरिवाना रकम तीन लाख १० हजार १७६ रुपैयाँ रहेको प्रहरी तथ्यांकले जनाउँछ । यस्तै, गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कैलाली कारागारबाट फरार भएका १३ जना कैदीबन्दीलाई समेत प्रहरीले पक्राउ गर्न सफल भएको छ । तीमध्ये ९ जना कैदी र ४ जना बन्दी रहेका छन् ।
प्रहरीले पक्राउ परेकामाथि कानुनी प्रक्रिया अघि बढाइसकेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसार, अपराध नियन्त्रण र सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरीले निरन्तर सक्रियता बढाएको छ । “समाजमा सुरक्षाको प्रत्याभूति र अपराध नियन्त्रण गर्नु नेपाल प्रहरीको प्रमुख प्राथमिकता हो,” एसपी चन्दले भने, “लागूऔषध दुर्व्यसनी नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाइरहेका छौं । साथै, फरार प्रतिवादी र कारागारबाट भागेका कैदीबन्दीलाई पनि कानुनको दायरामा ल्याइरहेका छौं ।”
प्रहरीले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । स्थानीयवासीले समेत पछिल्लो समयमा प्रहरीले अपराध नियन्त्रणमा देखाएको तत्परताको प्रशंसा गरेका छन् ।


