धनगढी: धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो नजिकका स्थानीयवासीहरूले १५ दिने अल्टिमेटमसहित डिपो स्थानान्तरणको माग गरेका छन्। शुभकामना टोल विकास संस्थाले आइतबार निगमलाई ज्ञापनपत्र बुझाउँदै घनाबस्तीबीच रहेको डिपोले स्थानीयको ज्यान र सम्पत्तिमा ठूलो जोखिम पुर्याइरहेको भन्दै तत्काल स्थानान्तरणको माग गरेको हो।
संस्थाका अध्यक्ष दीर्घराज ओझाले बुझाएको ज्ञापनपत्रमा टोलमा ८७ घरधुरी र करिब ५०३ जनसंख्या रहेको उल्लेख गर्दै डिपो नजिक बसोबास गर्ने बासिन्दा निरन्तर त्रासमा रहेको जनाइएको छ। ज्ञापनपत्रमा भनिएको छ, “डिपो र बस्तीबीचको दूरी अत्यन्त कम भएकाले सानो दुर्घटनाले पनि ठूलो जनधनको क्षति निम्त्याउन सक्छ, त्यसैले तत्काल डिपो अन्यत्र सार्नुपर्छ।” स्थानीयले निगमलाई बुझाएको ज्ञापनपत्रको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, धनगढी उपमहानगरपालिका र वडा नं. ३ कार्यालयमा समेत पठाइएको छ। उनीहरूले १५ दिनभित्र माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी पनि दिएका छन्।
स्थानीयवासीका अनुसार डिपो वरपरको क्षेत्र विगतमा खाली जमिन भए पनि पछिल्लो समय तीव्र शहरीकरणसँगै बस्ती डिपोसम्म फैलिएको छ। आगलागी वा अन्य दुर्घटनाको जोखिम बढेको भन्दै उनीहरूले यसअघि पनि सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएका थिए। उनीहरूको भनाइमा, डिपो नजिकै विद्यालय, पसल र आवासीय घरहरू रहेका कारण कुनै पनि आकस्मिक घटना हुँदा ठूलो मानवीय क्षति हुने सम्भावना छ। त्यसैले निगमले स्थानीयको सुरक्षालाई प्राथमिकता दिँदै वैकल्पिक ठाउँमा डिपो स्थानान्तरणका लागि तत्काल पहल गर्नुपर्ने उनीहरूको माग छ।


