धनगढीः धनगढीमा न्याचुरा रिसोर्ट सञ्चालनमा आएको छ । धनगढी ३, गुरूद्वारा मार्गमा सञ्चालित रिसोर्टको आज उद्घाटन भएको छ । बिमा क्षेत्रमा सर्वाधिक सफल मदन भट्टले रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। धनगढीमै यसअघि चिमेन स्टेसन सञ्चालन गर्दै आएका भट्टले १० करोडको लागतमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन्।
प्रदेशको राजधानी सहर धनगढीमा स्तरीय रेस्टुरेन्ट र आवासीय सुविधा दिन रिसोर्ट सञ्चालनमा ल्याएको व्यवसायी भट्टले बताए। उनले कर्पोरेट क्षेत्रका अतिथिहरूलाई मध्यनजर गरेर रिसोर्ट सञ्चालनमा ल्याएको बताए। रिसोर्टमा रेस्टुरेन्ट, कन्फ्रेन्स हल र १७ वटा सुविधा सम्पन्न आवासीय कोठा रहेका छन्। जसमध्ये आठ वटा सुपर डिलक्स रुम र सात वटा डिलक्स रूम रहेको व्यवसायी भट्टले बताए। रिसोर्टमा लज र रेस्टुरेन्टका लागि अलग-अलग भवन छन्। ३ करोडको जग्गा र सात करोड संरचना निर्माणमा खर्च भएको भट्टले बताए।
रिसोर्ट परिसरमा पर्याप्त पार्किङको व्यवस्था छ भने पानीको फोहरा, कृत्रिम झरनासहित विभिन्न प्रजातिका विरुवा रोपेर हरियाली व्यवस्थापन गरिएको छ। जाडो मौसममा घाम ताप्दै र गर्मीमा रुखको छहारीमा बसेर प्राकृतिक वातावरणको आनन्द लिँदै रमाउन मिल्ने किसिमले रिसोर्टको संरचना निर्माण गरिएको भट्टले बताए।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर राज ओझा र होटल व्यवसायी संघका अध्यक्ष केशवराज पाण्डेयले रिसीर्टको उद्घाटन गरेका हुन्। अतिथि सत्कार क्षेत्रमा सम्भावना देखेर लगानी गरेको बताउने भट्टले चिमेन स्टेसन र रिसोर्ट गरी ४० जनालाई पूर्णकालीन रोजगारी दिएका छन्। धनगढीमा सहर नजिकै एकान्त स्तरीय सेवा खोज्ने ग्रहकलाई लक्षित गरेर रिसोर्ट सञ्चाचलनमा ल्याएको भट्टले बताए। आफ्नो ठाउँमा सम्भावना खोज्नुपर्छ भनेर मैले यो क्षेत्रमा लगानी गरेको हुँ, उनले भने, अहिले प्रत्यक्ष रुपले ४० जनालाई रोजगारी दिएको छु, धनगढीमा पनि काठमाडौँको जस्तै रिसोर्ट हुनुपर्छ भनेर लगानी गरेको हुँ, पृष्ठपोषण राम्रो आइरहेको छ। उनले आफ्नै ठाउँमा पुँजीको लगानी गर्नुपर्ने बताउँदै, पुँजी र जनशक्ति पलायन रोक्न युवा र लगानी हुनेले विभिन्न क्षेत्रमा काम थाल्नुपर्ने बताए।


